२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । विद्यालय शिक्षा विधेयक जारी लगायतका माग राखेर गत चैत्र २० गतेदेखि शिक्षकहरु आज (बिहीबार) २३ औँ दिनको आन्दोलनमा नै छन् ।
चर्को घाममा शिक्षकहरु माइतीघरदेखि नयाँ बानेश्वरको सडकमा छाता ओढेर आन्दोलन गरिरहेका छन् । नेपाल शिक्षक महासंघको अगुवाईमा भइरहेको आन्दोलन स्थगित गर्न सरकारले आग्रह गरेपनि माग पुरा नभसम्म आन्दोलन स्थगित नगर्ने चेतावनि दिएका छन्।
शिक्षक र सरकारबिच पटकपटक वार्ता भएपनि वार्ता निष्कर्षमा भने पुग्न सकिएको छैन । नेपाल शिक्षक संघ सोलुखुम्बुका जिल्ला अध्यक्ष मदन राईले सरकार डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भएको बताए ।
“सरकार शिक्षकहरूसँग डराएर कक्षा १२ को परीक्षा रोक्न बाध्य भयो । अब शिक्षकका माग पूरा गर्नुपर्छ,” उनले भने ।
सरकारले शिक्षकहरूका माग पूरा नगरे आफूहरू राजीनामा दिन तयार रहेको उनले बताए । “यो हाम्रो अन्तिम आन्दोलन हो । यसपछि आन्दोलन हुँदैन । डु अर डाईको अवस्थामा हामी छौँ,” राईले भने, “माग पूरा नभए राजीनामा दिन पनि तयार भएर बसेका छौँ ।”
मंगलबार राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने अडान राखे पनि प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा वैशाख २१ गतेसम्म सारेको थियो ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आजदेखि आन्दोलन थप चर्किएको बताएका छन् । शिक्षामन्त्री विद्या भट्टरार्ईले राजीनामा दिएकाले प्रधानमन्त्री ओलीले नै विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग शिक्षकहरूको छ ।
यसअघि शिक्षक महासंघका अध्यक्षसहितका पदाधिकारीहरूले प्रधानमन्त्रीलाई भेटेका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij