Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा

काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा


  • 1.3K
    Shares

    • images
    काभ्रेमा रगतको चरम अभाव : बिरामी समस्यामा

    काठमाडौं । बनेपास्थित नेपाल रेडक्रस सोसाइटी काभ्रेको रक्त सञ्चार सेवा केन्द्रमा रगत मौज्दात शून्य अवस्थामा रहेको छ । बिरामीका लागि स्थानीय नागरिक तथा अस्पतालद्वारा रगत लिन आज  केन्द्रमा पुग्दा केन्द्रले  एक युनिट रगतसमेत दिन नसकेको जनाइएको छ । 

    केन्द्रमै केही दिनदेखि रगत अभाव भएको बताइएको छ । ‘केन्द्रमा एक युनिट रगत पनि छैन, जिल्लाका अस्पताल र व्यक्तिबाट माग भइरहेको छ’, केन्द्रका ‘स्टोर इन्चार्ज’ गोकुल बानियाँले भने । उनका अनुसार रगतका लागि बिहीबार बिहानैदेखि केन्द्रमा लगातार फोन आइरहेको छ ।

    रगतको मुख्य बैंकका रुपमा रहेको नेपाल रेडक्रस सोसाइटीद्वारा सञ्चालितको उक्त केन्द्रमा रगत नहुँदा निकै समस्या भइरहेको उनले बताए । रेडक्रसले सात सय युनिट रगत भण्डारण क्षमताको केन्द्र सञ्चालन गर्दै आएको छ । 

    जिल्लामा नियमित रूपमा रक्तदाता नहुनुले पनि रगतको अभाव भइरहेको जनाइएको छ । केही दिनयता जिल्लामा रगत अभाब हुन थालेको हो । रगत दान गर्नेभन्दा रगत लिनेको सङ्ख्या बढ्न थालेपछि रगत अभाव हुन थालेको केन्द्रले जनाएको हो । रक्तदान कार्यक्रम कम भएका कारण पनि रगत अभाव देखिएको रेडक्रस काभ्रेले जनाएको छ । 

    केन्द्र प्रमुख राधा थापाका अनुसार हाल केन्द्रमा रगतको अभाव पूर्ति गर्न कठिनाइ भइरहेको छ । ‘कहिलेकाहीँ सम्पर्कमा रहेका रक्तदातालाई अनुरोध गरेर बिरामीका आफन्तसँग समन्वय गराउँछौँ, अन्यथा निकै कठिन भइरहेको छ’, उनले भनिन् । उनका अनुसार केन्द्रमा ‘ए–पोजेटिभ’,‘बी–पोजेटिभी’, ‘एबी–पोजेटिभी’ र ‘ओ–पोजेटिभ’लगायत सबै प्रकारको रगतको माग भएको हो । रगत अभाव हुन थालेपछि बिरामीहरू समस्यामा परेका छन् । 

    काभ्रेमा रगत अभाव भएपछि केही हप्तादेखि भक्तपुर र काठमाडौँबाट रगत पूर्ति गर्नुपर्ने बाध्यता रहे पनि पछिल्ला दिनदेखि ती दुई जिल्लामा रगत अभाव भएको खबर प्राप्त भएको ‘स्टोर इन्चार्ज’ बानियाँले बताए । जिल्लामा आधा दर्जन अस्पताल तथा एक दर्जन क्लिनिक सञ्चालनमा छन् ।

    जिल्लाका सबै अस्पतालमा सामान्यदेखि विशिष्ट खालका शल्यक्रियासमेत हुने गरेका छन् । शल्यक्रियाका क्रममा रगतको आवश्यकता पर्ने भएकाले बिरामीलाई आवश्यकता पर्ने ग्रुपको रगत नहुँदा अस्पतालका साथै बिरामीका आफन्तलाई समेत समस्या हुने गरेको पाइएको छ । 

    काभ्रेमा सञ्चालित अस्पतालमा छिमेकी जिल्ला सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा तथा ओखलढुङ्गा, सोलुखुम्बु, उदयपुरसँगै मधेस र भित्री मधेसका विभिन्न जिल्लाबाट बिरामी उपचार गर्न आउँछन् । अस्पतालमा बिरामीको चाप बढेसँगै रगत अभावको समस्या चुलिएको हो । 

    प्रकाशित मिति :बैशाख ११ २०८२ बिहिवार - १३:३६:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij