२०८२ चैत्र २ गते सोमवार
काठमाडौँ । चैत १५ गते काठमाडौँ तीनकुनेको हिंसात्मक प्रदर्शनका कमान्डर दुर्गा प्रसाईं १३ दिनदेखि हिरासतमा छन्। चैत २८ गते भारतको आसाममा पक्राउ परेका प्रसाईंलाई भोलिपल्ट नेपाल ल्याएर जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखिएको थियो।
काठमाडौँ जिल्ला अदालतबाट पहिलोपटक १२ दिन म्याद थप गरिएका प्रसाईंलाई बुधबार थप ३ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ। प्रसाईंमाथि जिल्ला प्रहरी परिसर काठमाडौँले ५ वटा कसुरमा अनुसन्धान गरिरहेको छ। आपराधिक उपद्रव, राज्यविरुद्धको कसुर, ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान र संगठित अपराधको कसुरमा मुद्दा चलाउने तयारी छ।
भाटभटेनीका सामान लिएर भाग्ने र तीनकुनेको घटनामा प्रत्यक्ष संलग्नता नदेखिएकाहरूलाई भने प्रहरीले रिहा गरेको छ। अहिलेसम्म २१ जना थुनामुक्त भएको काठमाडौँ परिसरका प्रवक्ता अपिलराज बोहराले बताए। उनीहरूलाई थुनामुक्त गरे पनि अनुसन्धान भइरहेको र मुद्दा चलाउने तयारी छ।
त्यसदिन दुईजनाको ज्यान जाने गरी भएको घटनामा संलग्न केही व्यक्ति अझै फरार छन्। पहिचान भइसकेका व्यक्तिहरूको सूची नै बनाएर प्रहरीले खोजी गरिरहेको छ। केही भारत भागेको प्रहरीको दाबी छ।
यो घटनाको मुख्य योजनाकार दुर्गा प्रसाईं नै भएको प्रहरीको दाबी छ। चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनको कमान्डर तोकिएका थिए प्रसाईं। उनले नै प्रहरीलाई पेल्ने गरी गाडी चलाएका थिए। यस कारण प्रहरीले उनलाई ज्यान मार्ने उद्योगमा पनि अनुसन्धान अगाडि बढाएको छ।
उनका आसपासका सबै पक्राउ पर्दा पनि प्रसाईं भने आफ्ना बडीगार्ड दीपक खड्कासँग भारत भागिसकेका थिए।
उनलाई पनि आसामबाटै पक्राउ गरेर २९ गतेदेखि हिरासतमा राखिएको छ। तर प्रसाईंलाई र खड्कालाई हिरासतभित्र छुट्टाछुट्टै कोठामा राखियो। प्रसाईंलाई मात्रै एउटा कोठामा राखिएको थियो। अर्को कोठामा थिए धववल शमशेर र रवीन्द्र मिश्र।
आफूलाई एक्लै राखेपछि प्रसाईंले आफ्ना सहयोगीहरूलाई पनि सँगै राखिदिन प्रहरीलाई अनुरोध गरे। ‘यी त मेरा प्राण हुन्। यिनीहरू बिना त म बाँच्नै सक्दिनँ नि,’ उनले भनेका थिए।
‘उहाँ क्यान्सरको बिरामी पनि हुनुहुन्छ। त्यही भएर हेरचाह पनि हुन्छ भनेर एकजना सहयोगीलाई सँगै राखिदिएका छौँ,’ परिसरका एक अधिकारीले भने।
त्यसपछि प्रहरीले उनका सहयोगी रामकुमार धिमाललाई पनि साथै राखेको हो। धिमाल तिनै व्यक्ति हुन्, जो दुर्गा प्रसाईंसँगै हतियारसहित सर्वोच्च अदालत प्रवेश गर्दा पक्राउ परेका थिए।
धिमाल पूर्वसैनिक हुन्। नेपाली सेनाबाट अवकाश भएपछि उनी दुर्गा प्रसाईंको सुरक्षा गार्ड छन्। प्रसाईंले प्रायः जहाँ जाँदा पनि धिमाल र खड्कालाई नै लैजान्छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij