२०८२ चैत्र २ गते सोमवार
नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि बनेको सिफारिस समितिबाट पूर्व गभर्नर डा. विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।
समिति गठन भएपछि एकपटक पनि बैठक नबसेकाले राजीनामा दिनुपरेको डा. भट्टराईले बताए । 'हाम्रो काम के हो र ? समिति बनाएपछि हामीले काम गर्न पाउनु पर्दैन ?' डा. भट्टराईको प्रश्न छ । उनले मंगलबार ह्वाट्सएपमार्फत आफ्नो राजीनामा पठाएका छन् ।
'उताबाट स्वीकृत होस्, नहोस् केही भएन । काम नै गर्न नपाएपछि समितिमा बसिरहनुको औचित्य छैन,' डा. भट्टराईको आक्रोश छ ।
सरकारले गत चैत १८ गते अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा पूर्व गभर्नर डा. भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य रहने गरी गभर्नर सिफारिस समिति गठन गरेको थियो । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच गभर्नर नियुक्तिको विषयलाई लिएर लामो समयसम्म रस्साकस्सी चलिरहेको थियो ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारी गत चैत २४ गते देखि नै अवकाशमा गएका थिए । राष्ट्र बैंक ऐनअनुसार अधिकारी अवकाशमा जानुअघि एक महिना अगावै नयाँ गभर्नर नियुक्त गर्नुपर्ने भएपनि दलीय सहमति नभएपछि राष्ट्र बैंक अहिले कायममुकायम गभर्नरको भरमा चलिरहेको छ । एक साताअघि गभर्नर कांग्रेसले लिने सहमति भएको चर्चा शुरू भयो ।
देउवाको क्यान्डिडेटका रूपमा राष्ट्र बैंकमै कार्यरत कार्यकारी निर्देशक डा. गुणाकर भट्टको नाम अगाडि आयो । अहिले उनको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा पूरक निवेदन परेको छ । त्यसमा सुनुवाइ जारी छ । यिनै परिस्थितिका बीच सदस्य डा. भट्टराईले राजीनामा दिएका हुन् ।
उनले मापदण्ड नपुगेका कोही पनि व्यक्तिलाई सिफारिस गर्न नसकिने र गरिहालेमा आफूले नोट अफ डिसेन्ट राख्ने धारणा राख्दै आएका थिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij