२०८२ चैत्र २ गते सोमवार
यही वैशाख ११ गतेदेखि सञ्चालन हुने भनिएको कक्षा १२ को वार्षिक परीक्षाबारे निर्णय लिन मंगलबार बिहान राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ। परीक्षा तोकिएकै मितिमा सञ्चालन गर्ने वा केहीदिन पछि सार्ने विषयमा आवश्यक निर्णयका लागि बोर्डको बैठक बस्न लागेको हो।
बोर्डका सदस्य सचिव जंगबहादुर अर्यालले आज बिहान ८ बजेपछि बैठक बस्ने जानकारी दिए। ‘अध्यक्ष (डा.महाश्रम शर्मा) ज्यूले बैठक बोलाउनु भएको छ,’ अर्यालले भने, ‘बैठकमा कक्षा १२ को परीक्षासहित विभिन्न विषयमा छलफल होला।’
उनले परीक्षा ११ गतेदेखि नै सञ्चालनको लागि सबै तयारी बोर्डले गरिसकेको बताए। ‘हाम्रो तर्फबाट परीक्षा सञ्चालनको लागि कुनै समस्या छैन, सबै तयारी पूरा भएकाे छ,’ उनले भने।
कक्षा १२ को परीक्षा वैशाख ११ गते सुरु भएर २४ गते सकिने तालिका बोर्डले सार्वजनिक गरेको छ। तर, विभिन्न मागसहित विगत २१ दिनदेखि देशैभरिका शिक्षकले काठमाडौँमा आन्दोलन गरिरहेका कारण परीक्षा हुने/नहुने अन्योल छ। यसले परीक्षामा सहभागी हुने तयारीमा रहेका पाँचलाख भन्दा धेरै विद्यार्थीमा चिन्ता छ।
आन्दोलनरत शिक्षकहरुले भने माग पूरा नभएसम्म कक्षा १२ को परीक्षासहित कुनै पनि शैक्षिक गतिविधिमा संलग्न नहुने बताइसकेका छन्। शिक्षकका मागप्रति प्रधानममन्त्री अनुदार देखिएकाे बेला साेमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि शिक्षक आन्दोलनको गन्तव्य नै अनिश्चित बनेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij