२०८२ चैत्र २ गते सोमवार
ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बलेरो गाडीमा करेन्ट प्रवाह हुँदा भएको आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान खुलेको छ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका मे १ च ३०११ नम्बरको बलेरो गाडीमा फुङ्लिङ नगरपालिका–१० सेवारोचोकमा एक्कासि आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराई रहेका छन्।
त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सविना आचार्य, उनका १० वर्षीय छोरा भविमय आचार्य छन्। घाइते भएका दुई जनालाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइँदै छ ।
आज बिहान करिब ५ बजे बिजुलीको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij