२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । स्थानीय तहका कर्मचारी पनि आन्दोलित भएका छन् । स्थानीय सेवा कर्मचारी सञ्जाल नेपालले शनिबार विज्ञप्ति जारी गर्दै आइतबारदेखि आन्दोलन गर्ने जनाएको हो ।
सञ्जालका महासचिव दिपक सिंह धामीले जारी गरेको विज्ञप्तिमा आइतबार ७५३ वटै पालिकाका प्रमुखमार्फत राज्य व्यवस्था तथा सुशासन समितिका सभापति, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री, कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री र मुख्य सचिवलाई ध्यानाकर्षण गराउने उल्लेख गरिएको छ ।
यस्तै सोमबार काठमाडौंमा भेला भएर दबाबमूलक कार्यक्रम गर्ने र ७५३ वटै स्थानीय तहमा कालो पट्टी बाँधेर काम गर्ने जनाएको छ । माग पूरा नभए शुक्रबार काठमाडौँ केन्द्रित सडक आन्दोलन तथा सम्पूर्ण ७५३ वटै स्थानीय तहमा पेन डाउनका कार्यक्रमहरू गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सञ्जालले स्थानी तह कर्मचारी संघर्ष समितिसँग सरकारले गरेका सम्झौतालाई लत्त्याउँदै संघीय निजामती सेवा विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले अगाडि बढाएको आपत्ति जनाएको छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहका कर्मचारीका मागका विषयमा संशोधन प्रस्ताव दर्ता भएका दफाहरूमा आफूहरूसँग छलफल नगरेको र उपसमितिले पनि स्थानीय तहका कर्मचारीका विषयलाई बेवास्ता गर्दै प्रतिवेदन बुझाएको भन्दै सञ्जालले ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि सरकार र स्थानीय तहका कर्मचारीबीच ऐनमा सङ्घ, प्रदेश र स्थानीय सेवाका कर्मचारीहरूको सेवा र शर्तका विषयमा न्यूनतम मापदण्ड समावेश गर्ने, प्रदेशले कानुन निर्माण गर्दा पालना गर्नुपर्ने मापदण्डमा स्थानीय सेवाका स्थायी कर्मचारीलाई निजामती कर्मचारीका रूपमा परिभाषा भित्र समेटिनुपर्ने लगायतका विषयमा सहमति भएको थियो ।
हाल शिक्षक र आवासीय चिकित्सकहरू आन्दोलनमा रहेका छन् ।


© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij