२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । जुन दृश्य तपाईं सहजै हेर्न सक्नुहुन्न, कसरी मान्छेहरू त्यस्तो कृत्य गर्न सक्छन् होला रु
सामाजिक सञ्जालमा अहिले एउटा भिडियो भाइरल भएको छ । भिडियोले तपाईंलाई विचलित बनाउन सक्छ । किनभने भिडियोमा एउटा कुकुरलाई रुखमा झुड्याएर तड्पाई–तड्पाई मारेको देखिन्छ । कालो रङको उक्त स्थानीय जातका कुकुरलाई उनीहरूले यसरी तड्पाउँदै मारेका हुन् ।
भिडियोमा तीन जना देखिन्छ । एक जना रुखमा चढेका छन्, अर्को एक जनाले भिडियो बनाएका छन् । घाँटीमा पासो लगाइएको कुकुर असह्य पीडाले छट्पटाउँदै डोरीबाट फुत्किने प्रयास गर्छ । कुकुरको छट्पटाहट देखेर युवाहरू निकै रमाइरहेको देखिन्छ ।
फगत मनोरञ्जनका लागि तिनीहरूले एउटा अवोध प्राणीको यसरी क्रुरतापूर्वक ज्यान लिएको प्रष्ट हुन्छ ।
यो भिडियो दुई दिनअघि सुन्दर परियार नामको टिकटक एकाउन्टमा अपलोड भएको थियो । उनीहरूले बिना कसुर उक्त कुकुरलाई झुड्याएर मारेको स्थानीयले बताएका छन् । रोल्पा जिल्लाको लुङग्री गाउँपालिका वडा नम्बर ७ स्थित हारजङ गाउँको घटना हो यो । गत वैशाख ७ गते ती केटाहरूले कुकुरलाई झुड्याएर मारेको स्थानीयले जानकारी दिएका छन् ।
निर्दोष पशुलाई यसरी तड्पाउँदै मार्नेहरूलाई अहिले प्रहरीले खोजी गरिरहेको छ । ‘हामीले इलाका प्रहरी कार्यलय सुलिचौरलाई ती युवाहरू पक्राउ गर्न भनिसकेका छौं’ जिल्ला प्रहरी कार्यलय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक रोहित कुमार शाहीले भने, ‘उनीहरूको पहिचान भइसकेको छ, तुरुन्त कारबाही गर्नेछौँ।’
कुकुरलाई रुखमा झुन्ड्याएर यातना दिने कृत्यमा संलग्न ३ जना मध्ये ११ वर्षीय जलजला पुन र १७ वर्षीय डम्बर पुनलाई प्रहरीले पक्राउ गरिसकेको छ । अर्का २० वर्षीय सुन्दर परियारको भने खोजी कार्य भइरहेको सुलिचौर इलाका प्रहरी कार्यलयका प्रशरी निरीक्षक अरुण तामाङले जानकारी दिए ।
प्राम्भिक अनुसन्धान अनुसार कुकुरलाई मारेर खोलामा फालिदिएको भन्ने जानकारी पाइएको छ । त्यसैले कुकुरलाई खोज्नका लागि प्रहरी आज घटनास्थलमा जाने तयारीमा रहेको तामाङले बताए ।
मुलुकी अपराध संहिता २०७५ अनुसार कुनै पनि जनावरको क्रूरतापूर्वक हत्या वा कुनै पनि किसिमको निर्दयी व्यवहार गर्न, तड्पाउन पाइँदैन । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ । त्यसैले कुकुरलाई झुन्डाएर मार्ने काममा संलग्न यी ३ केटालाई पनि यही सजाय हुने तामाङ बताउँछन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij