२०८२ चैत्र २ गते सोमवार
झापा। विद्यार्थीलाई यौन दुर्व्यवहार गर्ने झापाको कमल गाउँपालिका– ३ स्थित सहिद धर्मभक्त माध्यमिक विद्यालयका शिक्षक शिवकुमार भट्टराईलाई एक वर्ष कैद सजाय भएको छ ।
जिल्ला अदालत झापाका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालसले बिहीबार शिक्षक भट्टराईलाई बालबालिकाविरुद्धको कसुर (बाल यौन दुर्व्यवहार)मा एक वर्ष कैद, दश हजार रुपैयाँ जरिवाना र ४० हजार क्षतिपूर्तिको फैसला गरेको हो ।
भट्टराईविरुद्ध सोही विद्यालयमा कक्षा ७ र ८ मा पढ्ने तीन बालिकाले इलाका प्रहरी कार्यालय दमकमा गत भदौमा जाहेरी दिएका थिए । उक्त जाहेरीका आधारमा जिल्ला अदालत झापामा मुद्दा दर्ता भएको थियो । अदालतले उनलाई प्रत्येक मुद्दामा एक–एक वर्ष कैद, जनही दश हजार जरिवाना (कुल ३० हजार) र जनही ४० हजार क्षतिपूर्ति (कुल एक लाख २० हजार) तोकेको जिल्ला अदालत झापाका सूचना अधिकारी रामचन्द्र बस्नेतले जानकारी दिए । प्रत्येक मुद्दामा एक–एक वर्ष गरी तीन वर्ष कैद हुन आउँछ । तर, उनले एक वर्ष मात्र कैद सजाय कटाए हुने सूचना अधिकारी बस्नेतले बताए ।
‘एकै कसुरको मुद्दा हो । एकै समयमा भएको घटना पनि भएकाले मुद्दामा कैद हद हुन्छ । भट्टराईले एक वर्ष सजाय काटे हुन्छ,’ उनले भने । शिक्षक भट्टराईले ती बालिकालाई विद्यालयमै यौन दुर्व्यवहार गरेका थिए । उनले कक्षाकोठामा गृहकार्य जाँच गर्ने क्रममा बालिकाहरूको संवेदनशील अंग चलाउने, ढाड मुसार्नेलगायत यौन दुर्व्यवहार गर्ने गरेका थिए ।
मुद्दा दर्ता भएपछि जिल्ला अदालत झापाले तीनवटै मुद्दामा ४ असोज ०८१ मा ६ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । तर, बिहीबार अदालतले फैसला गर्दै उनलाई कैद सजाय तोकेको हो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij