Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

परिवारै लिएर शेरबहादुर देउवा ब्यांकक जाँदै, बालुवाटार सशंकित

परिवारै लिएर शेरबहादुर देउवा ब्यांकक जाँदै, बालुवाटार सशंकित


  • 10.5K
    Shares

    • images
    परिवारै लिएर शेरबहादुर देउवा ब्यांकक जाँदै, बालुवाटार सशंकित

    चितवन पुगेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नयाँ वर्षमा सरकार परिवर्तन हुने संकेत गर्दै मुलुकले निकास पाउने दाबी के गरेका थिए, भोलिपल्टै (२ वैशाख) एमाले केन्द्रीय सचिवालयको बैठक बस्यो। 

    प्रचण्डले ‘सरकारका काम–कारबाहीसँग सत्ता–साझेदार नेपाली कांग्रेसभित्र असन्तुष्ट छ,’ भन्ने दाबी गरेका थिए। प्रचण्डले इङ्गित गरेको कांग्रेसभित्रको असन्तुष्टिलाई समेत मध्यनजर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा बुधबार (३ वैशाख) उच्चस्तरीय संयन्त्रको बैठक समेत भयो।

    दुई तिहाइ बहुमतको सरकार प्रतिनिधि सभामा ३२ सिट मात्र रहेको दलका नेताको भनाइबाट यति धेरै तर्सन्छ भने प्रचण्डले पनि प्रधानमन्त्री प्रस्ताव गरेका र कांग्रेसभित्रै सरकारका कामकारबाहीबारे असन्तुष्टि चुलिएका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा परिवारसहित विदेश भ्रमणमा जाने निर्णय गर्छन् भने बालुवाटार र सत्ता–साझेदार एमाले पंक्ति नतर्सने कुरै भएन।

    स्रोतका अनुसार, ‘वेटिङ प्राइमिनिस्टर’ एवं सभापति देउवा परराष्ट्रमन्त्री डा. आरजु राणा, छोराबुहारी सहित आगामी हप्ता ब्यांकक भ्रमणमा जाँदैछन्। थाइल्यान्डमा देउवाको बसाइ कहाँ हुन्छ भन्ने जानकारी नभएकाले पनि बालुवाटार यो भ्रमणप्रति आशंकित भएको हो। 

    स्वास्थ्य उपचारका लागि विदेश जाँदा परराष्ट्रमन्त्री डा. राणा  एक्लै जाने गरेकी छन्। तर, यसपटक सभापति देउवा पत्नी राणाको ब्यांकक भ्रमणको छेकोमा आफू पनि स्वास्थोपचारका लागि सँगै जाँदै छन्।

    जहाँसम्म परराष्ट्रमन्त्री डा. राणा देउवाको ब्यांकक भ्रमणको सन्दर्भ हो, मन्त्री राणा संयुक्त राष्ट्रसंघको इकानोमिक एन्ड सोसल कमिसन फर एसिया एन्ड प्यासिफिक (इस्क्याप) आर्थिक तथा सामाजिक आयोगको आगामी ८–१२ वैशाखमा ब्यांककमा हुने ८१ औँ बैठकको अध्यक्षता गर्ने गरी जान लागेकी हुन्। 

    सो बैठक ब्यांककस्थित संयुक्त राष्ट्रसंघको सम्मेलन केन्द्रमा हुने बताइएको छ। बैठकका लागि उनी ७ वैशाखमा ब्यांकक प्रस्थान गर्नेछिन्। १२ वैशाखमा उनी स्वदेश फर्कने कार्यक्रम छ। 

    स्रोतका भनाइमा, देउवा परिवारसँगै थाइल्यान्ड भ्रमणमा ‘नयाँ आयाम मल्टी डिस्प्लिनरी इन्स्टिच्युट’ (नामी) कलेजका प्रमुख कार्यकारी अधिकृत प्रनिल पाण्डे पनि हुने छन्। सो कलेजमा देउवा परिवारको समेत लगानी रहेको चर्चा चल्ने गरेको छ।   

    नेपालको सत्ता–राजनीतिमा भूराजनीतिक प्रभाव पनि रहने र सत्ता–राजनीतिमा प्रभाव पार्ने गोप्यवार्ताका लागि पछिल्लो समय दक्षिण–पूर्वी एसियाली मुलुकका राजधानीहरूको प्रयोग हुने गरेको चर्चाका कारणले पनि ‘उपचार’ का लागि हुन लागेको देउवाको ब्यांकक भ्रमणप्रति एमाले पंक्ति र बालुवाटारमा चासो बढेको हो। 

    प्रकाशित मिति :बैशाख ४ २०८२ बिहिवार - २०:१८:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij