२०८२ चैत्र २ गते सोमवार
सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका ६ पाँचकन्या जङ्गलमा मृत फेला परेकी चुनकुमारी बुढाथोकीको आफ्नै श्रीमान्को योजनामा हत्या भएको खुलेको छ।
दक्षिण कोरियामा रहेका उनका श्रीमान् प्रेमबहादुर बुढाथोकीको मुख्य योजनामा उनको हत्या भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। आज जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गर्दै घटनामा पारिवारिक संलग्नता रहेको जानकारी गराएको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमन तिम्सिनाले हत्यामा संलग्न रहेको आरोपमा ६ जनालाई पक्राउ गरिएको जानकारी दिए। मृतकका श्रीमान् प्रेमबहादुर बुढाथोकीलाई दक्षिण कोरियाबाट काठमाडौँ आए लगत्तै आज बिहान काठमाडौँ विमानस्थलबाट पक्राउ गरिएको पनि उनले बताए।
त्यस्तै अन्य पक्राउ पर्नेहरूमा मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नम्बर ३ मा बस्दै आएका प्रेमका भाइ ढकेन्द्र बुढाथोकी र उनकी श्रीमती सृष्टि बुढाथोकी रहेका छन्।
यसैगरी पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ स्थायी घर भई मोरङको उर्लाबारीमा बस्दै आएका योगेन्द्र गौतम र उनकी श्रीमती मिनु गौतमलाई समेत प्रहरीले पक्राउ गरी आजै सार्वजनिक गरेको छ। उनीहरू पनि परिवारका सदस्य हुन् । हत्यामा संलग्न अर्का एक जना भारतीय नागरिक भने फरार रहेको प्रहरीले जनाएको छ।
गत चैत २५ गते भएको घटनालाई लिएर प्रहरीले शवको पहिचान गर्न नै तीन दिन लागेको जनाएको छ। यो घटना पारिवारिक विवाद र असन्तुष्टिकाबीच जन्मिएको प्रहरी उपरीक्षक तिम्सिनाले जानकारी दिए। हत्यामा संलग्न व्यक्तिहरू मृतकका श्रीमान्, ,देउरानी, नन्द लगायत रहेको अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ।
सुनसरीको धरान उपमहानगरपालिका–६ स्थित पाँच कन्या सामुदायिक वनमा चैत २५ गते अर्धनग्न अवस्थामा चुनकुमारी मृत फेला परेकी थिइन्। प्रहरी स्रोतका अनुसार, चुनकुमारीलाई फकाएर सो जङ्गल क्षेत्रमा पुर्याएर हत्या गरिएको अनुसन्धानबाट खुलेको छ। उनको घाँटी र शरीरका अन्य भागमा चोट देखिएको प्रहरीले जनाएको छ।
महालक्ष्मी–१ माइत भएकी चुनकुमारी विगत २ वर्षदेखि सुनसरी इटहरीको हलगडामा बस्दै आएकी थिइन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij