२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलन यही वैशाख ६ र ७ गते सम्पन्न हुने भएको छ ।
सम्मेलनको उद्घाटन काठमाडौंको बसन्तपुर डबलीमा र बन्दसत्र कार्यक्रम कालिमाटी बैंक्वेटमा सम्पन्न हुन लागेको हो ।
सम्मेलनको उद्घाटन बैशाख ६ गते शनिवार दिनको १ बजे बसन्तपुरमा पूर्व प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आतिथ्यमा सम्पन्न हुनेछ । उद्घाटन समारोह अघि सुन्धाराबाट बसन्तपुरसम्म नेवाः सांस्कृतिक र्याली सम्पन्न हुनेछ ।
बैशाख ७ गते आइतबार कालिमाटी बैंक्वेटमा हुन गइरहेको सम्मेलनको बन्दसत्रमा ४८ जिल्लाका ३५२ प्रतिनिधिहरूले भाग लिनेछन् । बन्दसत्रमा मोर्चाको राजनीतिक एवम् सांगठनिक दस्तावेजमा गहन छलफल पश्चात केन्द्रीय कमिटीको गठन हुनेछ । यस सम्मेलनले मोर्चाको विगतको संघर्षका कार्यक्रमको समीक्षा गर्दै भविष्यको कार्यक्रमको रोडम्याप समेत तयार पार्नेछ ।
नेवाः राष्ट्रिय मुक्ति मोर्चाले जारी गरेको प्रेस वक्तव्यमा आफ्नो संगठन उपत्यकाका मूलवासी नेवाः जातिले भोग्नु परिराखेको ऐतिहासिक अन्याय, राज्यपक्षीय विभेद, सांस्कृतिक दमन र भूमि विस्थापनविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको संगठन भएको र गोरखा अधिपत्यकालदेखि आजका दिनसम्म गर्दै आइरहेको राजनीतिक, प्रशासनिक, सांस्कृतिकका साथै भौगोलिक उत्पीडनको अन्त्य गर्न स्वशासन र जातीय स्वायत्तताको सैद्धान्तिक मान्यता अनुसार संघर्षका कार्यक्रम गर्दै आइरहेको उल्लेख गरिएको छ ।
मोर्चाले आगामी दिनमा अग्रगामी आन्दोलनको आवश्यकता महशुस गर्दै आम उत्पीडित समुदायलाई एकताबद्ध संघर्षमा उत्रन आव्हान गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij