Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

मैनबत्ती निभेपछि दाजुले गरे बहिनीको हत्या, पानीट्याङ्कीभित्र लुकाए शव

मैनबत्ती निभेपछि दाजुले गरे बहिनीको हत्या, पानीट्याङ्कीभित्र लुकाए शव


  • 1.5K
    Shares

    • images
    मैनबत्ती निभेपछि दाजुले गरे बहिनीको हत्या, पानीट्याङ्कीभित्र लुकाए शव

    काठमाडौं । ललितपुरमा ११ वर्षीया बालिका हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले उनकै दाजुलाई पक्राउ गरेको छ।

    गत शुक्रबार ललितपुरको खपिन्छेँ टोलस्थित एक घरको पानी ट्याङ्कीमा बझाङकी ११ वर्षीया दुर्गा बोहराको शव फेला परेको थियो। 

    उनको हत्या गरेको आरोपमा प्रहरीले मृतककै १५ वर्षीय दाइ पक्राउ गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए। ‘उनका दाजुलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेका छौं,’ उनले भने।

    प्रहरीका अनुसार यो घटनामा हत्या हुनुको कारण लागुऔषध भएको देखिएको छ। बालिका बेलाबेलामा घर छाडेर हिँड्ने गरेकी थिइन्। यसअघि पनि प्रहरीमा उनी हराएको निवेदन परेको थियो।

    त्यस्तै घटना दोहोरिन थालेपछि भने घरले पनि बेवास्ता गर्न थालेको प्रहरीको बुझाइ छ। दुर्गाकै दुई जना दाइ छन्। उनीहरूको पनि अवस्था त्यस्तै रहेको प्रहरीले जनाएको छ।

    ‘चुरोट, रक्सी, लागुऔषध खाने, बेलाबेला घर छाडेर हिँड्ने गरेको देखियो,’ एसएसपी अधिकारीले भने, ‘केटाहरूसँग पनि हिँड्ने र दाइले हेरचाह गर्ने खालको कुरा पनि छ। तर फेरि दुवै दाइ पनि लागुऔषध सेवनकर्ता भन्ने देखियो।’

    चैत २९ गते खपिन्छेँ टोलको घरको भुँइ तलामा रहेको ट्यांकीभित्र दुर्गाको शव फेला परेको थियो। उक्त घरमा हालसालै बस्न आएका सञ्जय बोगटीले किरा र गन्ध आउन थालेपछि सफा गर्न ट्यांकी खोल्दा शव फेला परेको थियो।

    बोगटीको परिवार बस्नुअघि दुर्गाको परिवार त्यस घरमा बस्थ्यो। बोगटीको परिवार गाबहालबाट चैत १६ गते त्यहाँ बस्न आएको थियो। दुर्गाको परिवार भने फागुन २८ गते नै त्यहाँबाट सरिसकेको थियो। तर अनुसन्धान गर्ने प्रहरी अधिकृतका अनुसार घटना चैत ४ गते भएको देखिन्छ।

    ‘उनी त्यही दिन हराएको भन्ने कुरा थियो। त्यहाँ दाइ र बहिनी कपडा लिन भनेर गएका रहेछन्। दुवै जना राति सँगै गए,’ अनुसन्धानमा संलग्न ती अधिकृतले भने।

    त्यहाँबाट कोठा सरेपछि त्यहाँ अर्को परिवार बस्न आएको थिएन। त्यसबीच उनीहरू राति नै त्यहाँ पुगे। त्यहाँ गएर दुवै जनाले लागुऔषध सेवन गरेको एसएसपी श्यामकृष्ण अधिकारीले बताए।

    ‘युवकले लागुऔषध खाएर होसमा नभएको भनेका छन्। त्यही बेला आफूले बहिनीको घाँटीमा डोरी कसेर हत्या गरेको बयान दिएका छन्,’ उनले भने। अनुसन्धानमा संलग्न अधिकृतका अनुसार दुई जनाबीच मैनबत्ती निभेपछि विवाद सुरू भएको थियो।

    ‘मैनबत्ती निभेको निहुँमा एकअर्काबीच झगडा भएको रहेछ। तैले किन बत्ती निभाइस् भन्ने कुरालाई लिएर हातपात भयो। त्यहीबीच दाइले डोरीले घाँटी कसेको भनेका छन्,’ उनले भने।

    त्यस घटनापछि युवकले शव त्यहीँ छाडेर घर फर्किएका थिए। तर भोलिपल्ट आएर शवलाई ट्यांकीभित्र राखेर भागेको उनले बताएका हुन्। शव फेला परेपछि पोष्टमर्टमको लागि पाटन अस्पताल लगिएको थियो। शव सडिगलिसकेको अवस्थामा थियो। 

    पोष्टमर्टमले पनि घाँटीमा कसेर हत्या भएको खुलेको ती अधिकारीले बताए। अन्तिम रिपोर्ट भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

    घटनामा अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको संयुक्त टोली खटिएको थियो। पक्राउ परेका बालकलाई म्याद थपका लागि जिल्ला अदालत ललितपुर लगिएको छ।

    प्रकाशित मिति :बैशाख २ २०८२ मंगलवार - १४:१०:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij