२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । राप्रपा कोशी प्रदेश समितिले वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा.धवल शम्सेर राणाको निसर्त रिहाइको माग गर्दै संवैधानिक राजसंस्था, हिन्दु अधिराज्य पुनर्स्थापनाको लक्ष्य प्राप्त गर्ने गरी आन्दोलन गर्नु पर्ने निर्णय गरेको छ ।
वैठकमा बोल्दै जिल्ला अध्यक्षहरुले राप्रपाले राष्ट्रिय झण्डामा निर्णायक आन्दोलन गर्नु पर्ने, गत वर्ष जस्तो एक दिने होइन निरन्तरको आन्दोलन गर्नु पर्ने, सबै राष्ट्रवादी शक्तिहरुसँग एक ठाउँ उभिएर आन्दोलन अघि बढाउनु पर्ने मत राखेका थिए ।
उपाध्यक्ष र महामन्त्री थुनामा रहँदा समेत केन्द्रीय नेतृत्वले सडक तताउन नसकेको भन्दै वैठकमा पार्टी केन्द्रको आलोचना भयो ।
सहभागी एक नेताका अनुसार, राष्ट्रिय झण्डामा आन्दोलन गर्नु पर्ने माग र सुझाव वैठकमा पटक–पटक उठ्यो ।
यस पटकको काठमाडौं केन्द्रीत आन्दोलनमा पार्टीले पूर्ण तयारी गर्नु पर्ने, अध्यक्ष राजेन्द्र लिङदेन लगायत केन्द्रीय नेतृत्वले खुट्टा कमाउन नहुने विचार जिल्ला अध्यक्षहरुले प्रस्तुत गरेका थिए ।
कहीँ कतैबाट राजसंस्था पुनर्स्थापनाको आन्दोलन कमजोर बनाउने, आन्दोलन तुहाउने गतिविधि र अभिव्यक्ति दिन नहुने अध्यक्षहरुले शुक्रबार इटहरीमा सम्पन्न राप्रपा कोशी प्रदेशको वैठकमा स्पष्ट धारणा राखे ।
घाइते चोटपटक, आवत जावत र आवास लगायतका सबै व्यवस्था गरेर पार्टीले आह्वान गरे जिल्ला जिल्लाका कार्यकर्ता, समर्थकहरु सबै आन्दोलनमा सहभागी हुन तयार रहेको जिल्ला अध्यक्षहरुले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij