Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण

शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण


  • 1.2K
    Shares

    • images
    शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण

    काठमाडौं ।  रामपुर शीतभण्डारमा दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको छ । रामपुर नगरपालिकाको व्यवस्थापनमा किसानले उत्पादन गरेको बीउ तथा खायन आलु सुरक्षित भण्डारण गरिएको हो ।

    नगरपालिकाले सूचना जारी गरी गत चैत १८ देखि आलु भण्डारणका लागि शीतभण्डार खुल्ला गरेको थियो । भण्डारण कक्ष भरिएपछि २१ गते नै बन्द गरिएको छ । यसअघि पहिलो वर्ष बोलपत्रमार्फत व्यवसायीलाई, दोस्रो र तेस्रो वर्ष सूर्योदय कृषि सहकारीसँग सम्झौता गरेर शीतभण्डार सञ्चालन गरिएको थियो । हाल नगरपालिका आफैंले शीतभण्डारको व्यवस्थापन गरिरहेको छ ।

    शीतभण्डारमा छ सय ८२ किसान तथा कृषि सहकारी र समूहको गरेर दुई सय १० मेट्रिकटन आलु भण्डारण गरिएको नगरपालिकाको कृषिशाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिए । गत वर्ष एक सय ७० मेट्रिकटन आलु भण्डारण गरिएको उनले बताए । 

    यहाँ स्थानीय नगरपालिकासहित स्याङ्जाको चापाकोट नगरपालिकाका केही किसानबाट ल्याइएका आलुसमेत भण्डारण गरिएका छन् । नगरप्रमुख रमणबहादुर थापाले शीतभण्डारको सुविधा भएपछि किसानले उत्पादनमा जोड दिएको  बताए । 

    यस क्षेत्रमा आलु बढी उत्पादन बढी हुने भएकाले नगरपालिकाले शीतभण्डार निर्माण गरी प्रयोगमा ल्याएको र त्यसबाट किसान निकै लाभान्वित भएका उनको भनाइ छ । यसवर्ष रामपुर क्षेत्रमा प्रतिरोपनी सातदेखि आठ क्विन्टलसम्म आलु उत्पादन भएको छ । किसानबाट प्रतिकिलो रु छ भण्डारण शुल्क लिएर आलु राखिएको नगरपालिकाले जनाएको छ ।

    लुम्बिनी प्रदेश सरकारमार्फत रु तीन करोड २६ लाख ७६ हजार ५६६ मा तीन सय मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरेर वि।सं। २०७८ देखि सञ्चालनमा ल्याइएको हो । पहिलो वर्ष परीक्षणको क्रममा प्राविधिक समस्याका कारण केही समस्या भए पनि पुनः मर्मतपश्चात् दोस्रो र तेस्रो वर्ष भण्डारण गरिएको आलु राम्रो भएको कृषि शाखा प्रमुख गैरेले बताए । 

    नगरपालिकाले शीतभण्डारको रेखदेख, तापक्रममा तथा उपकरणको निरीक्षणका लागि एकजना दैनिक हेरालु राखेको छ । भण्डार केन्द्रमा फरक–फरक क्षमताका पाँच कोठा छन् । हाल पाँचवटै कोठा आलुले भरिएका छन् । सञ्चालनका लागि मासिक रु ५० देखि ६० हजारसम्म विद्युत् महसुल लाग्ने गरेको नगरपालिकाले जनाएको छ । 

    शीतभण्डार सञ्चालन हुनुअघि यहाँका किसानले भैरहवा, गल्याङ, पोखरालगात स्थानमा आलु भण्डारण गर्दै आएका थिए । 

     

     

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १५:३७:४६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij