Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक

तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक


  • 1.2K
    Shares

    • images
    तीनकुने घटनाका घाइतेको सम्पूर्ण उपचार सरकारले गर्छ: गृहमन्त्री लेखक

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुने घटनाका घाइतेहरूको सम्पूर्ण उपचार सरकारले गर्ने बताएका छन्।

    चैत १५ गते तीनकुने क्षेत्रमा घाइते भएकाहरूको उपचार सरकारले गर्ने निर्णय मन्त्रिपरिषदबाट भइसकेको उल्लेख गर्दै उनले उपचार गराइराखेको अस्पतालभन्दा बाहिरबाट औषधि किन्नु परेमा पनि त्यसको खर्च सरकारले व्यहोर्ने बताए।

    ‘तीनकुने घटनाको सबै घाइतेहरूको सरकारले निस्शुल्क उपचार गर्ने व्यवस्था मिलाएको जानकारी गराउँछु। उपचार गराइरहेका घाइतेलाई सिभिल, बिएण्डबी, केएमसी र ट्रमा अस्पताल पुगेरै मैले भेटेको छु,’ शुक्रबार सिंहदरबारमा बसेको कानून, न्याय तथा मानव अधिकार समिति बैठकमा बोल्दै गृहमन्त्री लेखकले भने।

    साथै उनले घाइतेहरूको उपचार गर्न सम्बन्धित अस्पताल बाहिरबाट पनि औषधि किन्नु परेको र त्यसबाट खर्च भइरहेको परिवारजनबाट गुनासा आएकोले त्यस्ता औषधिको खर्च पनि सरकारले नै व्यहोर्ने प्रतिबद्धता जनाएका छन्।

    ‘बाहिरबाट औषधि किन्नुपपरे पनि रकम सरकारले दिने कुराको प्रतिबद्धता जनाउँछु, सम्पूर्ण खर्च ब्यहोर्नेछ। कसैले खर्च पाउन बाँकी भए प्रक्रिया पूरा गरी भुक्तानी हुनेछ,’ उनले भने।

    उनले तीनकुने घटनालाई सरकारले गम्भीरतापूर्वक लिएको पनि बताए। घटनामा मृत्यु भएका दुई जनाको परिवारलाई १० लाख रुपैयाँका दरले आवश्यक प्रक्रिया पूरा गरी राहत उपलब्ध गराइने पनि उनले बताए।

    अब यस्ता प्रकृतिका घटना हुन नदिन सरकार गम्भीर रहेको पनि गृहमन्त्री लेखकले बताए।

    ‘तीनकुने क्षेत्रको घटना आपराधिक प्रकृतिको रह्यो। सञ्चार गृहमा छानिछानि ढुंगा हानेको, पार्टी कार्यालयमा आक्रमण गरेको, घरभित्र मानिस छ भन्ने थाहा पाउँदापाउँदै आगजनी भएको र व्यापारिक प्रतिष्ठानमा लुटपाट भएको थियो,’ उनले भने, ‘कार्यक्रमस्थलबाट निकै टाढा रहेको नेता माधव नेपालको घरमा पनि ढुंगा हानेको अवस्था रह्यो।’

    साथै राम्रो काम गरिरहेको जडिबुटी उद्योगमा पनि आगजनी भएको उनले बताए।

    ‘घटनाक्रमलाई विश्लेषण गर्दा नियोजित रूपमा आतंक र अराजकता फैलाउने आपराधिक तथा विध्वंसात्मक कार्य हो भन्ने कुरामा विवाद हुन सक्दैन भन्नेमा म प्रष्ट छु,’ उनले भने, ‘शान्तिपूर्ण कुरा राख्ने र जनताबाट अनुमोदन हुने संविधानले अधिकार दिएकै छ।’

    प्रकाशित मिति :चैत्र २९ २०८१ शुक्रवार - १३:०२:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij