२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मकवानपुरको बकैया गाउँपालिकामा बुधबार राति पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परी घाइते भएका व्यक्ति कोठामा झुन्डिएको अवस्थामा फेला परेका छन् ।
हेटौंडा अस्पतालबाट आज बिहान करिब ३ बजे डिस्चार्ज भएका विमल ढुंगाना राति सुतेको कोठामै झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
मकवानपुरको बकैया गाउँपालिका-३, चिसापानीमा आइपुगेपछि उक्त टोली सवार बागमती प्रदेश ०६-००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो। बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए। तिनै घाइतेमध्येका एक थिए, भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगाना।
विगत ५ वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए। पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए।
शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो। तर, उनीहरू सवार बस बाटोमा बिग्रिने, टायर पञ्चर हुनेजस्ता समस्या देखिएपछि फर्कन एक दिन ढिलो भएको थियो। पशु शाखाको व्यवस्थापनमा आयोजना गरिएको अवलोकन भ्रमणको जिम्मा पशु शाखा प्रमुख सरोज ओझाको थियो। विमललाई सवारीसम्बन्धी कुराहरू थाहा हुने भन्दै प्रमुख ओझाले विमललाई बस रिजर्भ गर्ने जिम्मेवारी थमाएका थिए।
सोहीअनुरुप विमलले नै रिजर्भ गरेको बसमा पालिकाको टोली भ्रमणमा निकिस्यो। चार दिन कन्यामदेखि धनकुटासम्म घुमेका उनीहरू बुधबार दिउँसो २ बजे गाईघाट आइपुगेका थिए। भीमफेदी गाउँपालिका-२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार दिउँसो गाईघाटमा खाना खाएपछि मकवानपुर फर्कनका लागि बाटो लागे। साँझ सिन्धुली आइपुगेपछि खाजा खाएर निस्किएका उनीहरू बीच बाटोमै दुर्घटनामा परे।
दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहे पनि धेरैको अवस्था मध्यमदेखि सामान्य छ। पशु प्राविधिक विमलको अवस्था पनि सामान्य नै थियो। दुर्घटनापछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएका उनलाई सामान्य उपचारपछि बिहीबार (आज) बिहान ३ बजेतिर डिस्चार्ज भए।
हेटौंडा-१८, हर्नामाडी घर भएका उनी कहिले हर्नामाडी जाने भन्दै थिए त कहिले भीमफेदी नै जाने भन्दै दोमन गरिरहेका थिए। सँगै भ्रमणमा गएका सोही शाखामा कार्यरत रुविन घर्तीका अनुसार, विमलले भीमफेदी जाने भनेपछि सँगै डिस्चार्ज भएका कर्मचारीहरूले पनि सँगै जाने प्रस्ताव राखेका थिए।
तर उनी कसैलाई नभनी निस्किएकोमा हेटौंडा-२ स्थित संगमचोकतिर हिँडिरहेको भन्ने खबर पाएपछि भीमफेदी गाउँपालिका-९ का वडासदस्य उदयप्रसाद हटवालको घरमा गएर बस्न सुझाव दिएको रुविनले बताए। आफूहरू भने बजारतिरै साथीको कोठामा सुतेको उनको भनाइ छ।
वडासदस्य हटवालले हेटौंडा-११, नवलपुरमा रहेको आफ्नो घरमा बिहानीपख विमललाई लिएर गएका थिए। बिहान अबेरसम्म पनि नउठेपछि थकाइ लागेर सुतिरहेका होलान् भन्ने लागेर घरका मान्छेले त्यति वास्ता गरेनन्। हटवालको घरको दोस्रो तल्लामा छुट्टै कोठामा सुतेका विमल निकैबेरसम्म पनि नउठेपछि वडासदस्य हटुवालले ढोका ढकढक्याउँदै बोलाए। तर, भित्रबाट कुनै चालचुल भएन।
भित्र सुनासान नै भएपछि उनले झ्यालबाट चिह्याएर विमल सुतेको कोठामा हेर्दा पंखामा झुण्डिएको अवस्थामा देखे।
केहीबेरको हो-हल्लापछि प्रहरी घटनास्थल आइपुग्यो। उनी सुतेको कोठाको ढोका फुटाएर हेर्दा घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा विमल फेला परे। उनी सुतेको कोठामा रहेको कपडा राख्ने दराजबाट टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुण्डिएको मकवानपुर प्रहरीले जनाएको छ।
घटनास्थलमा चुँडिएको अवस्थामा पेटीसमेत भेटिएको छ। उनले लगाएको पेटीले पासो लगाउने प्रयास गर्दा चुँडिएपछि खादा र टाई जोडेर डोरी बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
दुर्घटनाबाट ज्यान जोगिएर नयाँ जीवन पाएका उनले किन आत्महत्या गरे होलान्रु परिवार र शुभचिन्तक सबैले अहिले प्रश्न गरिरहेका छन्।
विमलका छिमेकीका अनुसार भ्रमणमा रिजर्भ गरेर लगिएको बस विमलकै थियो। उनले त्यो बस कहिले किने भन्ने यसभन्दा अघि थाहा नभए पनि घटनापछि उनकै बस रहेछ भन्ने थाहा पाएको उनका एक छिमेकीको भनाइ छ।
उनले नेपालखबरसँग भने, ‘पहिला एउटा स्कारपियो गाडी थियो। सानो एउटा भ्यानजस्तो गाडी पनि थियो। उसले चढ्नेभन्दा पनि भाडामा लगाउँथ्यो क्या र। पछिल्लो समय स्कारपियो बेचेर बस किन्ने भनेको सुनेको थिएँ। किनिसकेका रहेछन्। अहिले दुर्घटना भएपछि पो थाहा भयो।’
विमल सोही दुर्घटनाकै कारण आत्महत्या गर्ने स्थितिमा पुगेको हुन सक्ने आफन्तहरूले अनुमान गरेका छन्। आफ्नै सवारी क्षति भयो। घाइतेहरूको उपचार गराउनेदेखि मृत्यु भयो भने के गर्ने भन्ने चिन्ता सहन नसकेको हुन सक्ने हेटौँडा अस्पतालमा पोस्टमार्टम रिपोर्ट कुरेर बसिरहेका छिमेकीहरू बताउँछन्।
यता, सँगै भ्रमणमा गएका साथीहरूले समेत विमलको बस हो भन्ने थाहा पाएका थिएनन्।
‘आफू सामान्य घाइते भए पनि बसमा सवार घाइतेहरूको अवस्थाले विक्षिप्त बनेका देखिनुहुन्थ्यो,’ सँगै भ्रमण गरेर फर्किएका सोही गाउँपालिकाका कृषि प्राविधिक सुदीप पराजुलीले भने, ‘उहाँ निकै अत्तालिएको अवस्था हुनुहन्थ्यो। हामी सबैजना डराएका थियौँ। त्यसैले पनि त्यति ख्याल गरिएन। आज यस्तो घटना सुनेपछि पो उहाँको बस रहेछ भन्ने थाहा पायौँ। त्यतिका दिन भ्रमणमा रहँदा पनि उहाँले कहिल्यै आफ्नो बस भन्नुभएन।’
विश्वनाथ ढुंगाना र सत्यवती ढुंगानाका कान्छा छोरा हुन् विमल। उनका दाइ कामको सिलसिलामा जिल्ला बाहिर छन्। हाल उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij