२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । गत असार २८ गते नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालको सिन्दुरे खोल्सीमा आएको लेदोसहितको पहिरो (डेब्रिज) का कारण सडकमा गुडिरहेका दुईवटा यात्रुबाहक बस बगाएको अप्रिय घटना अझै नेपालीहरूको मनमस्तिष्कमा नमिठो सम्झना बनिरहेको छ ।
गृह मन्त्रालयको सिमलताल बस दुर्घटना अध्ययन प्रतिवेदनअनुसार काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स लेखिएको यात्रुबाहक बसमा ३६ जना र वीरगन्जबाट काठमाडौँ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एनल डिलक्स लेखिएको यात्रुबाहक बसमा २६ जना गरी यात्रुसङ्ख्या ६२ जना रहेका थिए ।
जसमध्ये गणपति डिलक्सका तीन जना यात्रु नन्दन दास, जुगेश्वर राय यादव र सरोजकुमार गुप्ता हामफालेर बाँचेका थिए भने बाँकी ५९ जना यात्रु बेपत्ता भएका थिए । पहिरोले बगाउँदा बसहरू त्रिशूली नदीमा खसेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार भीषण वर्षाका कारण सडकमाथिबाट खसेको पहिराले दुवै बसलाई धकेल्दै नदीमा खसालिदिएको थियो । प्रतिवेदनअनुसार २४ शव फेला पारिए पनि ३५ जना बेपत्ता भएका थिए ।
अर्को घटना, गत साउन ३२ गते दिउँसो साढे १ बजेतिरको हो । सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिकाको थामेमा अचानक लेदोसहितको बाढी आयो । हेर्दाहेर्दै क्षणभरको बाढीले थामे बजार बगरमा परिणत भयो । कहिल्यै कल्पना नगरेको यो घटना सपनाझैँ लागिरहेको छ अहिले पनि खुम्बु पासाङल्हामु गाउँपालिकाकी उपाध्यक्ष टासी ल्हामु शेर्पालाई । “यो विपद्ले यहाँका बासिन्दालाई अझै तर्साइरहेको छ । फेरि पनि कुन दिन हिमपहिरोले ज्यान जोखिममा पर्ने हो चिन्तित छन् यहाँका बासिन्दा”, उनी भन्छिन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार निरन्तर वर्षा र तापक्रम वृद्धिले सो क्षेत्रमा हिमपहिरो गएको हो वा अन्य कुनै कारणले भन्ने विषयमा गहिरो अध्ययन जरुरी छ ।
“प्रारम्भिक अध्ययनमा थामे खोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा सानाठूला गरी छवटा हिमताल–हिमपोखरी रहेको देखिन्छ । उक्त क्षेत्रको नजिक रहेको फोर्से केन्द्रमा विगत सात दिनमा ६५ मिलिमिटर वर्षा मापन भएको छ । साउन २५ गतेदेखि दैनिक औसत तापक्रममा क्रमिक वृद्धि भएको ९९।७ बाट ११।० डिग्री सेल्सियस० देखिन्छ र साउन ३१ ९अगस्ट १५० गतेको अधिकतम तापक्रम १५।९ डिग्री सेल्सियस पुगेको देखिन्छ”, विभागको भनाइ छ ।
तेस्रो घटना, असोज १०, ११ र १२ गतेका भारी वर्षाले काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा धनजनको व्यापक क्षति गरेको थियो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार तीन दिनको अवधिमा दुई सय ५० जनाले ज्यान गुमाए भने १८ जना अझै बेपत्ता छन् । एक सय ७८ जना घाइते भएका थिए । झन्डै छ हजार निजी आवासमा क्षति पुगेको प्राधिकरणको तथ्याङ्क छ ।
उपत्यकाका नदी आसापासका करिडोरहरू अझै धुलाम्मे छन्, कुरुप छन् अझै । सहरी विकास मन्त्रालयका अनुसार बाढीपहिरोजस्ता प्राकृतिक विपद्का कारण सहरी विकास मन्त्रालयअन्तर्गत क्षतिग्रस्त पूर्वाधारका संरचना बनाउन करिब रु दुई अर्ब ८८ करोड ३४ लाख लागत लाग्ने गरिएको छ । स्थानीय पूर्वाधार विभागअन्तर्गत २७ वटा सडकखण्ड र २८ ओटा झोलुङ्गे पुलमा आंशिक रुपमा क्षति र ३२ वटा झोलुङ्गे पुलमा पूर्ण रूपमा क्षति पुगेको छ ।
मन्त्रालयमा अनुसार अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गत बागमती, मनोहरा, धोबीखोला, विष्णुमती, नख्खु, हनुमन्ते, कर्मनासा नदीहरूमा थुपारेको माटो तथा गेग्रान निकाल्ने कार्यका लागि रु १२ करोड ८१ लाख खर्च हुनेछ ।
नदी किनारामा निर्माण गरिएका क्षतिग्रस्त तटबन्ध, पर्खाल र बाटोलगायतका अन्य संरचना पुनः बनाउनका लागि रु ७० करोड खर्च हुने अनुमान गरिएको मन्त्रालयको भनाइ छ ।
विसं २०८१ लाई फर्केर हेर्दा थामेको पहिरोले बस्ती नै विस्थापित हुने अवस्था आउनु, गत असोजमा बाढीका कारण काठमाडौँ उपत्यकाका अधिकांश क्षेत्र डुबानमा पर्नु, भौतिक पूर्वाधारहरूको क्षति, आकस्मिक र रेकर्ड तोड्ने वर्षा नै यस वर्षको जलवायुजन्य दुःखद् घटना भएको बताउनुहुन्छ, वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु व्यवस्थापन माहाशाखा प्रमुख डा महेश्वर ढकाल ।
“यी घटनाले आगामी दिनमा जलवायु अनुकूलनका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, पूर्वसूचना र पूर्वतयारी व्यापक रूपमा अगाडि बढाउनुपर्ने पाठसमेत सिकाएको छ”, उनी भन्छन्, “योसँगै प्रदेश र स्थानीय तहलाई पनि अब जलवायुजन्य विपद् व्यवस्थापनका लागि बलियो बनाएर अगाडि बढ्नुपर्ने रहेछ भन्ने सिकायो ।”
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij