Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

आज देशभर कहाँ कहाँ हुँदैछ बर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

आज देशभर कहाँ कहाँ हुँदैछ बर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना कति ?


  • 2.2K
    Shares

    • images
    आज देशभर कहाँ कहाँ हुँदैछ बर्षा, काठमाडौंमा पानी पर्ने सम्भावना कति ?

    काठमाडौं । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको छ ।

    कोशी प्रदेशका संखुवासभा, सोलुखुम्बु, बागमती प्रदेशका दोलखा, सिन्धुपाल्चोक, रसुवा, गण्डकी प्रदेशका कास्की, बाग्लुङ, म्याग्दी, पर्वत तथा लुम्बिनी प्रदेशका रोल्पा, प्युठान र पाल्पामा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । कर्णाली प्रदेशका एक–दुई स्थानमा पनि हल्कादेखि मध्यम खालको वर्षा मापन भएको छ ।

    कहाँ कति वर्षा भयो ?

    गत २४ घण्टाको अवधिमा सबैभन्दा धेरै वर्षा म्याग्दीको मुनामा भएको छ । मुना स्टेसनमा ३२.६ मिलिमिटर वर्षा मापन भएको जल तथा मौसम विज्ञान विभागको रेकर्ड छ ।

    त्यसपछि धेरै वर्षा सिन्धुपाल्चोकको चन्द्रखु क्षेत्रमा भएको छ । त्यहाँ २४ घण्टाको अवधिमा २२ मिलमिटर वर्षा रेकर्ड भएको छ । सिन्धुपाल्चोककै गुम्थाङमा १९.४, दुवाचौरमा १२.८, ढुंगेमा १२.४, भोताङमा १०.८, बाहुनेपाटीमा १०.६, बोल्देमा ८.८ र मेलम्चीघ्याङमा ८.६ मिलिमिटर वर्षा मापन भएको छ ।

    झापाको बाहुनडाँगीमा पनि मध्यमखालको वर्षा भएको छ । त्यहाँ गत २४ घण्टाको अवधिमा २१.४ मिलिमिटर वर्षा रेकर्ड भएको छ ।

    त्यसपछि धेरै वर्षा कर्णाली प्रदेशको जाजरकोटस्थित दल्ली स्टेसनमा भएको छ । दल्लीमा १९.८ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    रुकुमपश्चिममा असिना–पानी

    कर्णाली प्रदेशको रुकुमपश्चिममा पर्ने मुसिकोट नगरपालिका वडा नं ९ चौखाबाङमा असिना–पानी परेको छ । असिनाले काट्न ठिक्क भएको गहुँ र अन्य तरकारी तथा फलफूलमा क्षति पुर्‍याएको छ ।

    यसैगरी काभ्रेको रोशीखोला पनौतीमा ७.६ मिलिमिटर वर्षा भएको छ । तर काभ्रेको छिमेकी काठमाडौं उपत्यकाका जिल्ला भने सुक्खा नै रहे । साँखुमा हल्का छिट्याउने बाहेक अन्य स्थानमा वर्षाको रकेर्ड देखिएन ।

    काठमाडौंमा हिजो भएन वर्षा, आज र भोलि सम्भावना

    जल तथा मौसम विज्ञान विभागका मौसमविदले मंगलबार अपराह्नदेखि काठमाडौंमा पनि वर्षा हुने पूर्वानुमान गरेका थिए । तर पूर्वानुमान गरेअनुसार वर्षा भएन ।

    बुधबार र विहीबार दुई दिन भने काठमाडौंमा पनि पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन् । अहिले बिहान काठमाडौंमा डम्म बादल लागेको छ । अपराह्न वा साँझतिर भने मेघगर्जन/चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद रोजन लामिछानेले बताए ।

    ‘हिजो काठमाडौं आसपास वर्षा भए पनि काठमाडौं उपत्यकामा चाहिँ भएन तर आज र भोलि काठमाडौंमा पनि हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना छ,’ लामिछानेले भने । पानी कति पर्छ भन्ने कुरा बादल कसरी विकसित हुन्छ भन्ने कुराले पनि भर पर्ने उनले बताए ।

    हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । यसका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । त्यसैले मौसमविदले वर्षा, हिमपात र बदलीको पूर्वानुमान गरेका हुन् ।

    बरिष्ठ मौसमविद शान्ति कँडेलका अनुसार चैत २७ गते देशका धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको बताइन् । विशेष गरी कोशी र मधेश प्रदेशका थोरै ठाउँहरुमा हल्कादेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको उनको भनाइ छ । बाँकी प्रदेशका थोरै ठाउँहरुमा हल्का मात्र पानी पर्ने सम्भावना छ ।

    देशभरी नै उच्च पहाडी र हिमाली क्षेत्रका थोरै ठाउँहरुमा हिउँ पर्ने सम्भावना पनि रहेको बरिष्ठ मौसमविद कँडेलले जानकारी दिइन् ।

    मौसमविद रोजन लामिछानेले पनि कोशी र मधेश प्रदेशसहित पूर्वी तराईका जिल्लाहरुमा आज र भोलि पानी पर्ने बताए । दुई दिन वर्षा भएपछि पर्सि शुक्रबारदेखि पानी पर्ने क्रम कम हुँदै जाने उनको भनाइ छ ।

    आज र भोलि एरिया कभरेजका हिसाबले धेरै ठाउँमा पानी पर्ने सम्भावना छ, त्यसपछि पर्सिदेखि अलि कमजोर हुँदै जान्छ,’ उनले भने ।

    प्रकाशित मिति :चैत्र २७ २०८१ बुधवार - ०६:५२:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij