२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुने जनाएको छ। मंगलबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले गभर्नर सिफारिस समितिले गृहकार्य गरिरहेको भन्दै राष्ट्र बैंकका गभर्नर चाँडै नियुक्त हुने बताएका हुन्।
उनले दुई दलको बीचमा भागबन्डा नमिलेर गभर्नर नियुक्त हुन नसकेको भन्ने कुरामा सत्यता नरहेको उल्लेख गरे। नेपाललाई ‘ग्रे लिष्ट’बाट बाहिर निकाल्न गृहकार्य समेत भइरहेको अवस्थामा गभर्नर नियुक्तिको ढिलाइले कुनै असर नपर्ने उनले बताए।
त्यस्तै मन्त्रिपरिषदका निर्णय सुनाउँदै प्रवक्ता गुरुङले गृह मन्त्रालय तथा मातहतका निकायहरूको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने पूर्वस्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिए।
त्यस्तै बैठकले नेपाल भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने बौद्धनाथ क्षेत्र बिकास समितिको रिक्त कार्यकारी निर्देशक पदमा मोहन कुमार तामाङलाई नियुक्त गरिएको प्रवक्ता गुरुङले बताए।
त्यस्तै मन्त्रिपरिषदले नागरिक एप सञ्चालन तथा व्यवस्थापन निर्देशिका २०७८ खारेज गरेको छ भने वैकल्पिक वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति प्रदान गरेको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij