२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा सम्मान समारोह अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको छ।
संस्थाका नेपाल प्रतिनिधि तिर्थराज आचार्यले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसम्बन्धी सचेतनामूलक प्रस्तुति दिनुभएको थियो। त्यस्तै, कार्यक्रममा गायिका देविका बन्दना, गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा। उत्सवमान श्रेष्ठ, आयुर्वेद चिकित्सक डा। प्रकाश ज्ञवालीलगायतले आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रमको संयोजन हाल अस्ट्रेलियामा बस्दै आउनु भएका संगीतकार टिका दाहालले गर्नु भएको थियो।
उक्त कार्यक्रममा गायिका बन्दनासँगै बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) पनि सम्मानित हुनुभएको थियो। इन्टरनेशनल नेप्लिज कम्युनिटीले गायिका बन्दनाको हौसला अभिवृद्धिका लागि बन्दना द्वारा लिखित ध्ष्ललभचुक न्बभि (जित्नेको हाँसो) पुस्तकका ५० प्रति खरिद गरेको थियो।
विश्वभर विभिन्न पेशा, व्यवसाय तथा श्रम क्षेत्रमा आवद्ध भई सामाजिक सञ्जालमा सक्रिय नेपाली तथा नेपालीभाषी युवाहरूको समूहले स्थापना गरेको इन्टरनेशनल नेप्लिज कम्युनिटी पवित्र उद्देश्यका साथ व्यक्तिगत, सामाजिक र राष्ट्रिय उन्नयनका लागि समर्पित भएर कार्य गर्दै आएको छ। हाल अमेरिका निवासी सुजेश लामाले संस्थाको प्रमुख लक्ष्य विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायलाई एउटै छातामुनि ल्याई सामाजिक, शैक्षिक, स्वास्थ्य तथा आर्थिक क्षेत्रमा योगदान पुर्याउनु रहेको बताउनुभयो।
संस्थाले हालसम्म सामाजिक सञ्जालमार्फत स्वास्थ्य, साहित्य, कानुनी परामर्श र महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यस्तै, भौतिक रूपमा दैवी प्रकोप पीडित सहयोग, खेलकुद प्रशिक्षण, शिक्षा तथा क्यान्सर सचेतनामूलक कार्यक्रम पनि सञ्चालन भइरहेको छ। कार्यक्रममा संस्थाका सदस्यहरू र संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij