२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जरूरी पर्यो भने संघीय संसदको विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकहरूका माग पूरा गरिने बताएका छन्।
चैत २० गतेदेखि नेपाल शिक्षक महासंघको आह्वानमा सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौंकेन्द्रित आन्दोलनमा छन्। उनीहरूले विद्यालय शिक्षा ऐन छिटो जारी गर्न माग गरेका छन्।
शिक्षकहरूलाई माग पूरा नहुन्जेलसम्म आन्दोलन जारी राख्न पनि प्रचण्डले आग्रह गरेका छन्।
‘जबसम्म माग पूरा हुँदैन, तपाईंहरूले नछोड्नुस्,’ आन्दोलनरत शिक्षकहरूलाई लक्ष्य गर्दै प्रचण्डले आइतबार काठमाडौंमा आयोजित नेवा मुक्ति मोर्चाको प्रशिक्षण भेलामा भने, ‘कहिले सिठ्ठी बजाउनुस् कहिले के गर्नुपर्छ गर्नुस्, हामी तपाईंहरूको साथमा छौं।’
उनले प्रतिपक्षी दलहरूसँग कुरा गर्न नभ्याएको उल्लेख गर्दै थपे, ‘शिक्षकहरूका माग पूरा गर्न जरूरी पर्यो भने विशेष अधिवेशन बोलाएर भए पनि शिक्षकका माग पूरा गर्नेतिर हामी अघि बढ्छौं। म आजैदेखि प्रतिपक्षी दलहरूसँग छलफल गर्छु।’
अध्यक्ष प्रचण्डले शिक्षकहरूलाई सताउने काम गर्न नहुने पनि बताए। सरकारले हतारिएर संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गरेको पनि उनको भनाइ थियो।
सरकारलाई चारै तर्फबाट घेर्ने काम भइरहेको भन्दै उनले निर्णायक प्रहार भने माओवादी केन्द्रले नै गर्नुपर्ने बताएका थिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij