२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ ।
चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो । चैतेदसैँको मुख्य दिन शनिबार अष्टमीको दिनमात्रै तीन लाख भक्तजन कालिका मन्दिर दर्शनका लागि आएको र सोही दिन ११ लाख ८१ हजार भेटीसमेत सङ्कलन भएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।
चैतेदसैँमा कालिका मन्दिर दर्शन गर्न र मेला भर्नका लागि नेपालका विभिन्न जिल्ला तथा भारतबाटसमेत धार्मिक पर्यटक भित्रिने गरेका छन् । पछिल्लो समय प्रचारप्रसार र पूर्वाधार निर्माणसँगै कालिका मन्दिरमा दर्शनार्थीको सङ्ख्यामा वृद्धि भइरहेको खड्काले बताए ।
उनले मुस्ताङ हिँडेका धार्मिक पर्यटक कालिका दर्शनलाई आउने गरेको बताउँदै चैतेदसैँको मुख्य दिनएकै पटक एक हजार चारपाङ्ग्रे सवारीसाधनले बाङ्गेचौर खेल मैदान भरिएको जानकारी दिए । चैतेदसैँ सुरु भएसँगै कालिका मन्दिरमा दर्शनार्थीको भीड लाग्ने गरे पनि मुख्य दिन बिहानै ४ बजेदेखि एक किलोमिटरभन्दा लामो लाइनमा भक्तजनले लामबद्ध भएर कालिका मन्दिर दर्शन गरेका थिए ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाकी राजकुमारी विवाह गरेर ल्याउँदा दाइजो दिएको कालिकाको मूर्ति घना जङ्गलको बीचमा बिसाएर उठाउन खोज्दा नसकेपछि सोही ठाउँमा स्थापित गरी पूजा गर्ने चलन बसेको मन्दिरको अभिलेखमा उल्लेख छ । कालिका भगवती मन्दिर विसं १५९१ मा स्थापना गरिएको इतिहास छ । चैतेदसैँ मेलामा घरायसी प्रयोजनका सामग्री डाला, नाङ्ला, ठेका, हातहतियारलगायत वस्तुहरुको परम्पराकालदेखि नै किनमेल हुने गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij