२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भोजपुरमा पनि लोपोन्मुख हाब्रे ‘रेडपाण्डा’ भेटिन थालेपछि त्यसको संरक्षण अभियान सुरु गरिएको छ । रेडपाण्डा संरक्षणका लागि जिल्लाको पश्चिम टेम्केमैयुङ गाउँपालिका र साल्पासिलिछो गाउँपालिकाको एक–एक वडामा रेडपाण्डा संरक्षण कार्यक्रम सुरु गरिएको हो ।
विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डा जिल्लामा पनि देखिन थालेकाले यसको संरक्षणका लागि दुई पालिकामा कार्यक्रम सुरु भएको सामूहिक अभियानका अध्यक्ष गणेश श्रेष्ठले बताए । रेडपाण्डा नेटवर्कसँगको समन्वयमा सामूहिक अभियानले टेम्केमैयुङ–१ र साल्पासिलिछो–५ मा रेडपाण्डा संरक्षण अभियान थालिएको छ ।
टेम्केमैयुङको मुन्दुम पदमार्ग आसपासका वन क्षेत्रमा दुर्लभ तथा लोपोन्मुख रेडपाण्डा भेटिने गरेको छ । गाउँपालिका–१ को सुम्लिखाको धप्पर एकराते सामुदायिक वन क्षेत्रमा सामूहिक अभियान संस्थाका समुदायमा आधारित रेडपाण्डा संरक्षण कार्यक्रमका फिल्ड कर्मचारीका तर्फबाट रेडपाण्डा भेटेर तस्बिर खिचेको संस्थाका अध्यक्ष श्रेष्ठले बताए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij