२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । काठमाडौंमा एक युवकको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । सर्लाहीको चक्रघट्टा गाउँपालिका–८ का १९ वर्षीय राहुल साहको हत्या आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
राहुल काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, बाहुनधारामा बस्दै आएका थिए । यही चैत ११ गतेदेखि उनी बेपत्ता थिए । प्रहरीले खोज्ने क्रममा चैत १५ मा गोकर्णेश्वर–८, माकलबारीस्थित आरके मोटरसाइकल वर्कसपको पछाडिको जमिनमा गाडिएको अवस्थामा उनको शव फेला परेको थियो ।
हत्या आरोपमा पक्राउ पर्नेमा पाँचजना सर्लाहीको चक्रघट्टा गाउँपालिकाका बासिन्दा छन् । एकजना भारतीय नागरिक छन् । १ लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए ।
साहले ग्यारेज सञ्चालक मण्डलसँग रकम लिनुपर्ने थियो । रकम लिन उनी वर्कसपमा पुग्छन् । मण्डलले पैसा दिन आनाकानी गरेपछि ‘पैसा नलिई जान्न’ भन्दै साह घण्टौँ वर्कसपमा बसेपछि उनीहरूको बिचमा विवाद भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए ।
ती अधिकृतले भने, ‘साहले पैसा नलिई नजाने अडान राखेसँगै वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिन्छ ।
चक्रघट्टा–१ का २२ वर्षीय निपु मण्डल, चक्रघट्टा–६ का १८ वर्षीय विजय यादव, सोही ठाउँका १८ वर्षकै करनकुमार महतो, २३ वर्षीय जोधन मण्डल, चक्रघट्टा–१ का ४५ वर्षीय उत्तम मण्डल र भारतको बिहारका २९ वर्षीय सुनील शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । निपु र जोधन गोकर्णेश्वर–५ मा बस्दै आएका थिए । सुनील काठमाडौंको दक्षिणढोकामा बस्दै आएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी गराएको छ ।
उनीहरूविरुद्ध अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद प्राप्त भएको परिसरका एसपी अपीलराज बोहराले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij