२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । नेपालको प्रमुख ग्रामीण पर्यटन गन्तव्य घलेगाउँमा ‘पर्यटन प्रवद्र्धन तथा रजतजयन्ती समारोह’ आयोजना हुने भएको छ । बेँसीसहरमा आज पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिइएको हो ।
विसं २०५७ मा औपचारिक रूपमा ग्रामीण पर्यटनको सुरुआत गरेको घलेगाउँले २५ वर्ष पूरा गरेको अवसरमा आगामी वैशाख २३, २४ र २५ गते विशेष कार्यक्रम आयोजना गरिँदैछ । सो समारोहले घलेगाउँलाई थप पर्यटकीय केन्द्र बनाउने अपेक्षा गरिएको छ । घलेगाउँ पर्यटन व्यवस्थापन समितिको आयोजनामा हुने कार्यक्रममा स्थानीय संस्कृति, ग्रामीण भिलेज होमस्टे, साहसिक खेलकुद तथा विभिन्न सांस्कृतिक झलक प्रस्तुत गरिनेछन् । पर्यटन बोर्ड, स्थानीय तह, निजी क्षेत्र तथा सरोकारवाला निकायको सहकार्यमा कार्यक्रम सम्पन्न गरिनेछ ।
घलेगाउँ पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार पर्यटन प्रवद्र्धनका लागि गुरुङ समुदायको परम्परागत नृत्य, झ्याउरे नाच, घाँटु नृत्य तथा अन्य सांस्कृतिक प्रस्तुति विशेष आकर्षणका रूपमा रहनेछन् । साथै पर्यटकलाई स्थानीय जीवनशैलीको अनुभव गराउन होमस्टे भ्रमण गराइनेछ । घलेगाउँलाई ‘स्मार्ट भिलेज’ का रूपमा विकास गर्ने लक्ष्यसहित यो कार्यक्रम आयोजना गरिँदैछ । वातावरणमैत्री प्रविधि, फोहर व्यवस्थापन, नवीकरणीय ऊर्जा प्रवद्र्धन तथा डिजिटल पूर्वाधार विकासमा ध्यान दिइनेछ ।
उनका अनुसार कार्यक्रमअन्तर्गत ग्रामीण पर्यटनको भविष्य, आवश्यक नीतिगत सुधार, सार्वजनिक–निजी साझेदारीका अवसरबारे छलफल गरिनेछ । समारोहमा फुटसल, म्याराथन दौड, साइक्लिङ, साहसिक खेल आयोजना गरिनेछन् । विजेतालाई नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
फुटबल प्रतियोगितामा एमएससी क्लब बालिया , त्रिवेणी युवा क्लब बेँसीसहर, नाल्मा ११, बिवाइसी भोटेओडार, भूइँखेल फुटबल क्लब, अभिषेक चर्च, फ्रेण्डसिप युथ क्लब, गुन्नी फुटबल क्लब, सीवाईसी नेपाल तुरतुरे, रड्स रामपुर, एन्फा मनाङ र बँसीसहर युथ सोसाइटी सहभागी हुनेछन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij