Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजावादी आन्दोलन

राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग

राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग


  • 2.6K
    Shares

    • images
    राजावादी आन्दोलनमा निधन भएका सविनको शव उठेन, परिवारद्वारा राहत र शहीद घोषणाको माग

    काठमाडौं । दुई दिनअघि राजसंस्था पुनस्स्थापनाको मागसहित काठमाडौंमा भएको आन्दोलनमा प्रहरीको गोली लागि निधन भएका युवा सविन महर्जनको शव अझै उठेको छैन ।

    आर्थिक क्षतिपूर्ति र शहीद घोषणाको माग गर्दै परिवारले शव उठाउन इन्कार गरेका हुन् । कीर्तिपुर-४ गाम्चा निवासी २९ वर्षीय सविनलाई तीनकुनेमा भएको प्रदर्शनका क्रममा प्रहरीले गोली हानेको थियो । छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि ज्यान जोगिन सकेन ।

    टिचिङ अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरे । संयुक्त जनआन्दोलन समितिले सविनलाई राजावादी आन्दोलनको पहिलो शहीद घोषणा गरेको छ । सविन एक सामान्य यातायात मजदुर हुन् । उनी काठमाडौं-हेटौंडा रुटमा सुमो चलाउँथे । राजनीतिमा उनी संलग्न थिएनन् ।

    शुक्रबार बिहान सविन बल्खुमा गाडी बनाउनुपर्ने भन्दै घरबाट मोटरसाइकल लिएर निस्किएका थिए । श्रीमान् आन्दोलनमा सहभागी भएकोबारे आफूलाई थाहै नभएको श्रीमती भविषाले बताएकी छन् ।

    दिउँसो उनले श्रीमानलाई फोन गर्दा प्रहरीले उठाएपछि छाँगाबाट खसेझैँ भएकी थिइन् । प्रहरीले श्रीमान गम्भीर घाइते भएर अस्पताल ल्याइएको जानकारी दिएका थिए । भविषा अस्पताल पुग्दा सविनलाई मृत घोषणा गरिसकिएको थियो ।

    सविन र भविषाका एक छोरी छन् । श्रीमानको निधनपछि बज्रपातमा परेकी भविषाले आफू बेसहारा बनेको बताउँछिन् । यसअघि ११ जनाको संयुक्त परिवारको आर्थिक दायित्व सविन एक्लैले बोक्दै आएका थिए ।

    उनको निधनपछि परिवारकै बिचल्ली भएको छ । निधनको खबरपछि सविनकी ७५ वर्षीया हजुरआमा अस्वस्थ बनेकी थिइन् । उनलाई अहिले कीर्तिपुरको काठमाडौं मोडल अस्पतालमा राखिएको छ ।

    यता, सविनको शव उठाउन परिवारले मानेका छैनन् । श्रीमानलाई शहीद घोषणा गर्नुपर्ने र परिवारलाई ५० लाख क्षतिपूर्ति दिइनुपर्ने सविनाको माग छ । उनले रोजगारीको माग पनि राखेकी छन् । संयुक्त जनआन्दोलन समिति र राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि परिवारको मागमा समर्थन जनाएका छन् ।

    राप्रपाको हिजो बसेको बैठकले आन्दोलनमा निधन भएका सविन र पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने माग गरेको थियो ।

    प्रकाशित मिति :चैत्र १७ २०८१ आइतवार - ११:३९:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij