२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । हेटौँडामा देवरले खुकुरी प्रहार गर्दा भाइजूको हत्या भएको छ। माइलो दाइको अवस्था गम्भीर छ। हेटौँडा–१ चौकीटोलमा २२ वर्षीय राहुल दासले बुधबार (हिजो) आफ्नै ३५ बर्षकी भाउजू गुडिया दासलाई खुकरी प्रहार गरी हत्या गरेका हुन्। भाउजुको हत्यापछि राहुलले माइलो दाजु रुपेश दासलाई समेत खुकुरी प्रहार गरेका हुन्।
बुधबार बिहान परिवारका सबै सदस्यहरूले सँगै खाना खाए। आफ्ना दुई छोरा र एक छोरीलाई स्कुल पठाएर गुडिया घरधन्दातिर लागिन्। गुडियाका सासु–ससुरा तेस्रो तल्लामा रहेको छतमा रोपिएका फूलहरूमा पानी राख्न भन्दै छतमा उक्लिए।
काम धन्दा सकिएपछि गुडिया दोस्रो तल्लामा रहेको आफ्नो कोठामा सुत्न गइन्। दिउँसो २ बजेतिर राहुल घरतिरै घुमिरहेका थिए। यत्तिकैमा माइलो दाजु रुपेश र राहुलको जम्काभेट हुन पुग्यो। रुपेशले बोल्न नभ्याउँदै राहुल दाजुमाथि जाइलाग्न थाल्छ।
हातमा खुकुरी लिएर घुमिरहेको भाइलाई भेटेपछि रुपेश अत्तालिएर कराए। छतमा रहेका बावुआमा पनि छोराहरूको झगडा परेको थाहा पाएपछि रुँदै छिमेकीहरूको सहारा मागे।
यतिबेलासम्म रुपेशको ढाड र टाउकोमा गहिरो चोट लागिसकेको थियो। कोठाबाट आँगनसम्म आइपुग्दा रगतको धारा बगिसकेको थियो, सँगै घर रहेकी प्रत्यक्षदर्शी छिमेकीले नेपालखबरसँग भनिन्, ‘मैले नै आत्तिएर प्रहरीलाई फोन गरेँ। रुपेशलाई लिएर हामी सबैजना हेटौंडा अस्पताल गयौँ।’
यता, प्रहरीले दाइमाथि खुकुरी प्रहार गर्ने राहुलको खोजी गरिरहेको थियो। होहल्ला भएपछि राहुल आफ्नो घरसँगै जोडिएको घरको कुनामा लुकिरहेको अवस्थामा फेला पारेको थियो। राहुललाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय, मकवानपुरमा लग्यो। घरमा सबै सदस्य र छिमेकीहरू रुपेशको स्वास्थ्य अवस्थाको चिन्ताले अस्पतालमै जम्मा भए।
दिउँसो यस्तै ४ बजेतिर गुडियाका तीन छोराछोरी स्कुलबाट घर फर्किए। त्यसपछि मात्रै परिवारलाई गुडियाको याद आयो। छिमेकीले परिवारसँग गुडियाको विषयमा सोधपुछ गरे।
घरमा माइलो देवर घाइते भएको देख्न नसकेर कतै बेहोस भएर लडेको हुनसक्ने आशंकामा कोठाहरूमा हेर्न गइयो। ति छिमेकीले थपिन्, ‘हेर्न जाँदा गुडियाको कोठामा सानो ताला लगाएको पाइयो। राति ८ बजे झ्यालबाट चियाएर हेर्दा ओछ्यानमा रगतको आहाल जमेको देख्यौं। त्यसपछि तुरुन्तै प्रहरीलाई खबर गर्यौँ।’
ताला फुटाएर हेर्दा गुडिया खुकुरी प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला परिन्। भाउजूको हत्या गरिसकेपछि ब्ल्याङ्केटले बेरेर खाटको तल लुकाएको अवस्थामा शव फेला परेको थियो।
राति गुडियाको शव भेटिएपछि मात्रै परिवारका अन्य सदस्यहरूले रुपेशमाथि आक्रमण गर्नुको कारण पत्ता लगाए। गुडियाको हत्या गरेको माइलो दाइले देख्यो कि भन्ने डरले उनलाई पनि मार्ने योजनामा खुकुरी प्रहार भएको हुनसक्ने उनीहरूको अनुमान छ।
राहुल पहिल्यैदेखि लागुऔषध दुर्व्यसनीमा फसेको पारिवारीक स्रोत बताउँछ। प्रायः उनले जेठी भाउजुसँग पैसा मागिरहन्थे। हिजो पनि भाउजूसँग पैसा माग्दा नदिएको कारण हत्या गरेको भन्ने प्रहरीसामु स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर प्रसाद सापकोटा बताउँछन्।
भाउजूलाई मारेको दाइले देखेपछि उसको पनि ज्यान मार्ने योजनाको साथ खुकुरी प्रहार गरेको पाइयो, प्रहरी निरीक्षक सापकोटाले भने, ‘दाजुमाथि खुकुरी प्रहार भयो भन्ने खबर आएपछि हामीले राहुललाई पक्राउ गर्यौँ। भाउजूको हत्या भएको विषय त राति मात्रै थाहा भयो। तर राहुलको बयानको अनुसार पहिला भाउजूको हत्या गरेर पछि माइलो दाइमाथि प्रहार गरेको स्वीकार गरेका छन्।’
राहुलको आक्रमणबाट उनका माइलो दाजु रुपेशको हेटौँडास्थित मकवानपुर सहकारीमा उपचार भइरहेको छ भने भाउजू गुडियाको हेटौँडा अस्पतालमा पोष्टमार्टमका लागि लगिएको प्रहरीले जनाएको छ। मृतक गुडियाका श्रीमान् रोशन दास रोजगारीको सिलसिलामा कतारमा छन्।
उनी ५ महिनाअघि मात्रै कतार गएका थिए। घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij