Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इटहरीको सेन्ट्रल प्लाजा

साढे ६ घन्टापछि नियन्त्रणमा आयो इटहरीको आगलागी

साढे ६ घन्टापछि नियन्त्रणमा आयो इटहरीको आगलागी


  • 1.7K
    Shares

    • images
    साढे ६ घन्टापछि नियन्त्रणमा आयो इटहरीको आगलागी

    काठमाडौं । इटहरीको सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि सुरू भएको आगलागी साढे ६ घन्टापछि नियन्त्रणमा आएको छ। 

    ‘बिहान साढे नौ बजे तिरबाट ठूलो रूप लिएको आगो अहिले तीन बजेतिर पूर्ण रूपमा नियन्त्रणमा आएको छ,’ इटहरी ६ का वडाध्यक्ष दिवस पोखरेलले भने, ‘आगो नियन्त्रणमा आएपछि सबैतिरका दमकलहरू फिर्ता भएका छन्।’ 

    इटहरी चोकबाट पूर्वतिर रहेको सेन्ट्रल प्लाजाको नौ तले भवनमा बिहान साढे आठ बजेतिरै धुँवाको मुस्लो भेटिएको थियो। त्यसको केहीबेरमा आगोले ठूलो रूप लिएको थियो। 

    आगलागीबाट प्लाजाको सबभन्दा माथिल्लो तीन वटा फ्ल्याटमा रहेको होटल बरण्डामा बढी क्षति भएको छ। होटल सञ्चालक राजेश श्रेष्ठका अनुसार किचन, रेष्टुराँमा बढी क्षति भएको छ। 

    आगो नियन्त्रणमा आइसके पनि होटल सञ्चालक श्रेष्ठले भित्र पस्ने आँट आइनसकेको बताए। ‘आगोले गरेको क्षति देखेर भित्र पस्ने हिम्मत नै आइरहेको छैन, म पसेकै छैन’, उनले भने। 

    वडाध्यक्ष पोखरेलले दिएको जानकारी अनुसार आगोले भवनको सातौं तलामा पनि असर गरेको छ। ‘भर्खरै नियन्त्रणमा आएकाले हेर्ने, बुझ्ने काम भइरहेको छ,’ उनले भने, ‘अहिलेसम्म पनि आगलागीको कारण खुलेको छैन।’ 

    आगलागी भइरहँदा सेन्ट्रल प्लाजामा फसेका सर्वसाधारणको उद्धार गर्ने र आगो निभाउने क्रममा ५ जना सुरक्षाकर्मी सामान्य घाइते भएको र दुई जना सर्वसाधारण पनि घाइते भएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए।

    उनीहरू सबैको उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। सुनसरीको इटहरी चोकबाट ठ्याक्कै पूर्वतर्फ रहेको नौ तलाको भवन सेन्ट्रल प्लाजामा बुधबार बिहानदेखि आगलागी भएको थियो। 

    आगलागी भइरहँदा सुरक्षाकर्मीहरूले भवनभित्र फसेका ११ जनाको सकुशल उद्धार गरेका थिए। उद्धारकै लागि भनेर  हेलिकप्टर पनि बोलाइएको थियो। तर, सेनाको हेलिकप्टर काठमाडौंबाट आइपुग्न समय लाग्ने भएपछि डोरीको सहायताले सुरक्षाकर्मीले ११ जनाको उद्धार गरेका थिए। 

    सेन्ट्रल प्लाजाको आगो नियन्त्रणका लागि कोशी प्रदेशका विभिन्न स्थानीय तहका १२ वटा दमकल, क्रेन, आयल निगमबाट ल्याइएको  फोम, फायरबल लगायतका सामग्री प्रयोग भएको थियो।

    नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा इटहरी उपमहानगरका गरी चार सयभन्दा बढी सुरक्षाकर्मी आगो नियन्त्रणका लागि खटिएका थिए।

    प्रकाशित मिति :चैत्र १३ २०८१ बुधवार - १६:२३:२५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij