Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार

‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने माओवादीनिकट महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि…

‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने माओवादीनिकट महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि…


  • 2.9K
    Shares

    ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ भन्दै नारा लगाउने माओवादीनिकट महिला पत्रकारलाई पूर्वराजाले बोलाएपछि…

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह हिजो गोर्खाबाट काठमाडौं फर्किँदा ठाउँ ठाउँमा सर्वसाधारणले उनको न्यानो स्वागत गरे । उनको समर्थनमा व्यापक नाराबाजीहरू पनि भएका थिए ।

    यस क्रममा नुवाकोटको बट्टारमा आइपुग्दा पूर्वराजाको कानमा एउटा अप्रिय नारा गुञ्जियो । राजावादीहरूकै भिडभित्रबाट एक महिलाले अनायास ‘ज्ञानेन्द्र शाह मुर्दावाद’ को नारा लगाउन थालिन् । त्यसपछि उनी राजावादीहरूको हुल हुज्जतमा पर्न सक्ने खतरालाई पूर्वराजाले नै टारिदिएका छन् ।

    गोरखाबाट धादिङ नुवाकोट हुँदै काठमाडौं फर्किने क्रममा हिजो बेलुकी करिब सवा ५ बजे सो घटना भएको हो । आफैँ गाडी चलाएर आएका पूर्वराजा विदुर नगरपालिका ४ मा रहेको होटल वाटर टावरमा विश्रामका लागि रोकिएका थिए । त्यहाँ पहिल्यै सर्वसाधारणको ठूलो भिड जम्मा भइसकेको थियो । राजालाई गाडीबाट ओरालेर होटलभित्र छिराउन अङ्गरक्षकहरूलाई हम्मेहम्मे पर्‍यो । पत्रकारहरू पनि बाक्लै संख्यामा आएका थिए ।

    भीड पन्छाउँदै अंगरक्षकहरुले राजालाई अगाडि बढाए भने पत्रकारहरूले पछ्याउँदै फोटो खिच्न थाले । भिड पन्छाउने क्रममा अंगरक्षकले धकेल्दा एक महिला पत्रकारले आफूलाई ‘ब्याड टच’ गरिएको दाबी गरिन् । ती पत्रकार र अंगरक्षकबीच विवाद भयो । राजा भने भित्र पसिसकेका थिए ।

    होटलबाहिर युवाहरूले ‘हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ को नारा घन्काउन थाले । पूर्वराजा गेटभित्र बसेर सर्वसाधारणसँग भेट्न र फोटो खिच्न व्यस्त भए । बच्चादेखि वृद्धसम्म उनलाई भेट्न र फोटो खिच्न लाइनमा बसेका थिए । यता बाहिर विवाद हुँदै जाँदा अंगरक्षकले महिला पत्रकारको मोबाइल नियन्त्रणमा लिएको दाबी गरिएको छ ।

    त्यसपछि महिला पत्रकारले नारा लगाउन थालिन्– ज्ञानेन्द्र शाह मुर्दावाद ।’

    अनपेक्षित नारा लागेपछि त्यहाँ तनावको सम्भावना बढ्यो । राजाका अनुयायीहरूले उनलाई घेरे । उनलाई नारा नलगाउन चेतावनी दिइयो । सुरक्षामा खटिएकाहरूले महिलालाई बाहिर जान आदेश दिए । तर, उनले मानिनन् । आफू राजासँगै कुरा गर्ने अडान लिइन् । पूर्वराजाले यो दृश्य देखेपछि महिलालाई भित्र आउन इशारा गरे । त्यसपछि सुरक्षाकर्मीले पनि अनुमति दिए ।

    महिला नजिकै आएपछि पूर्वराजाले सोधे, ‘के भयो रु किन चित्त दुखाउनुभयो ?

    महिलाले आफ्नो मोबाइल खोसिएको गुनासो गरिन् । त्यसपछि पूर्वराजाले सोधे– कसले खोस्यो ?

    उनले जवाफ दिइन्, ‘म पत्रकार हो, समाचारका लागि फोटो खिच्दै थिएँ, मोबाइल खोसिदए ।’ कसले खोसेको हो आफूलाई याद नरहेको उनले बताइन् ।

    पूर्वराजाले भने, ‘खोस्न त नहुने हो ।’ त्यसपछि उनले अङ्गरक्षकहरूलाई मोबाइल खोजेर फिर्ता दिलाउन इशारा गरे । त्यसपछि आफू होटलभित्र छिरे । महिला पत्रकार भने सुरक्षाकर्मीले माफी माग्नुपर्ने बताउन थालिन् । त्यसपछि राजावादीहरू उनीमाथि खनिए । उनीहरूले झोले पत्रकार भन्दै गाली गलौचसमेत गरे ।

    केही समयमा उनको मोबाइल फिर्ता आयो । उनी शान्त भइन् ।

    यी महिला पत्रकार माओवादी पार्टीमा आबद्ध रुपा अर्याल भएको बुझिएको छ । अहिले राजाविरोधिहरुले राजावादीहरुबीचमै साहसी कार्य गरेको भन्दै उनको हाइहाइ गरिरहेका छन् । राजावादीहरूले भने पत्रकार भएर राजनीतिक नारा लगाएकोमा आपत्ति जनाइरहेका छन् ।

    images
    प्रकाशित मिति :चैत्र ११ २०८१ सोमवार - १३:०४:३३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij