२०८२ चैत्र २ गते सोमवार
बाँकेको डुडुवा गाउँपालिका–२, वेतहनीमा पानी बोक्ने ट्यांकरको ठक्करबाट दुई बालकको मृत्यु भएको छ।
विद्यालयबाट घर फर्किंदै गरेका दुई बालकलाई ट्यांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले बताए।
वेतहनीको नौरीगौडी एकेडेमीमा एलकेजीमा अध्ययनरत बालक विशाल गोडिया र शिवकुमार गोडियालाई भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिएको एसपी कार्कीले बताए।
घटनापछि बेतहनी क्षेत्र तनावग्रस्त बनेको छ। आक्रोशित स्थानीयले ट्यांकर र वेतहनी प्रहरी चौकीमा आगजनी गरेका छन्। आगजनीबाट प्रहरी चौकीको केही भाग र ग्यारेज पूर्णरूपमा जलेको छ।
ठक्कर दिने ट्यांकर पनि स्थानीयले जलाइदिएका छन्। ट्यांकर चालकलाई प्रहरीले पक्राउ गरेर चौकीमा लगेपछि स्थानीयले चौकीमै आक्रमण गरेका हुन्। प्रहरीले ट्यांकर चालकलाई जोगाएर जिल्ला प्रहरी कार्यालय पुर्याएको छ।
दुवै बालकको शव घटनास्थलमै छ। आफन्तले बुझ्न मानेका छैनन्। प्रदर्शन जारी छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij