२०८२ चैत्र २ गते सोमवार
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफू जीवित रहँदासम्म नेपालमा पुन:राजतन्त्र फर्काउने सपना पूरा गर्न नदिने बताएका छन्।
तराई–मधेश जागरण अभियानअन्तर्गत आज(शनिबार) चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोकमा आयोजित सभालाई सम्बोधन गर्दै उनले अहिलेकै संविधानलाई सफल बनाउने र राजतन्त्रलाई परास्त गरिरहने बताएका हुन्।
'हामीले सम्पूर्ण रुपमा परास्त गर्ने छौँ,' उनले भने, 'हामीले हाम्रो जीवनकालमा संविधानलाई सफल बनाउनु छ।’ उनले सरकार भ्रष्टाचारमा लागेकोले प्रतिक्रियावादीहरू सक्रिय भएको आरोप लगाए।
उनले नेपालको वर्तमान संविधानलाई अझ बलियो बनाएर कार्यान्वयनमा जानका लागि कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्ने पनि बताए। उनले माओवादीलाई विचौलियाले सरकारबाट बाहिर ल्याएको पनि आरोप लगाए।
'विचौलियाले अनेक प्रपञ्च गरेर हामीलाई सरकारबाट बाहिर पठाए। तर बाहिर आउँदा जनताले हामीप्रति जनताले नयाँ अनुभूति लिन थालेको पाएको छु,' उनले भने, 'केन्द्रीय समितिको बैठकले गम्भीर समीक्षा गरेर हामीलाई लागेको उपचार डाक्टरले गर्न सक्दैन। हामीलाई लागेको रोगको डाक्टर जनता हो भन्ने संकल्पसहित जनतामाझ आयौँ।'
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij