२०८२ चैत्र २ गते सोमवार
पूर्वराजा ज्ञानेन्द्र शाहले चलखेल गरेको भन्दै त्यसलाई रोक्न राष्ट्रिय सरकार बनाउने कसरत सुरु भएको नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरूले बताएका छन्।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र विपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि टेलिफोन संवाद सुरु भएको छ। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र अन्य दलका दोस्रो र तेस्रो तहका नेताबीच मुलुकको पछिल्लो अवस्थाबारे भेटेरै छलफल नै भइरहेको छ।
ज्ञानेन्द्रले फागुन ७ यता गणतन्त्रवादी दलहरूलाई तर्साउने गरी आफू चुप नबस्ने बताएपछि नेताहरू गणतन्त्र जोगाउनकै लागि एकै ठाउँमा हुनुपर्ने निचोडमा पुगेको माओवादी केन्द्रका एक नेताले बताए। ‘पूर्वराजा र राजावादी दल सक्रिय हुँदै जाँदा ‘गणतन्त्रवादीहरूको राष्ट्रिय सरकार’ भन्नेमा बहस चलेको साँचो हो,’ ती नेताले भने।
लोकतान्त्रिक गणतन्त्रमा पुगेको नेपाललाई फेरि पञ्चायती व्यवस्थातर्फ फर्काउने उल्टो बाटो हिँड्न नदिन दलबीच न्यूनतम सहमति र सहकार्य हुनुपर्ने कुरा उठेको उनको भनाइ छ। ‘गणतन्त्रवादीहरूको राष्ट्रिय सरकार बन्ने अवस्थामा पहिलो पार्टीले नेतृत्व गर्छ,’ उनले भने, ‘त्यसो हुनेबित्तिकै एउटा दनक त भारतले भनेको जसरी चल्नु पनि परेन। राजावादी र ज्ञानेन्द्रको मनोबल पनि बढ्न पाउँदैन। अहिले त गणतन्त्रवादी फुटेर न विभिन्न शक्तिको मनोबल बढेको हो।’
खासगरी माओवादी केन्द्रका नेताहरू ‘राष्ट्रिय सरकार’ बन्नु पर्ने कुरामा मुखर हुन थालेका छन्। माओवादीका सांसद लेखनाथ दाहालले आइतबार गणतन्त्र पक्षधरको सरकार बन्ने ढोका खुलेको ठोकुवा नै गरे।
‘सरकारमै बसेर व्यवस्थाविरोधी गतिविधि गर्नेलाई निरुत्साहित गर्नका लागि गणतन्त्र पक्षधरहरू एक ठाउँमा उभिन सहकार्यको थालनी भएको छ,’ दाहालले भने, गणतन्त्र विरोधीसँग हाम्रो सहकार्य हुँदैन। गणतन्त्र पक्षधरकै सरकार बन्ने सम्भावना बढेको छ।’ माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट एक नेताका अनुसार देउवा र प्रचण्डबीच संवाद सुरु भएको छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij