Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु


  • 2.1K
    Shares

    • images
    एक कठ्ठा जग्गामै ‘बाह्र क्विन्टल’ आलु

     काठमाडौं । शुक्लाफाँटा नगरपालिका–७ पिताम्बरका दलबहादुर चौधरीले एक कठ्ठा जग्गामा १२ क्विन्टल आलु फलाएका छन् । उन्नत जातको आलुखेती गरी चौधरी थोरै जग्गामा धेरै आलु फलाएका हुन् । पहिलो पटक उनले ‘कोमल कार्प’ नामक जातको आलुखेती गरेका छन्। थोरै क्षेत्रफलमा धेरै आलु फलेको देखेर चौधरी आफै दङ्ग छन् ।

    “आलुसम्बन्धी तालिम लिँदा धेरै फल्ने आलुको नाम सुनेको थिएँ”, चौधरीले भने, “रोपेपछि कस्तो फल्छ भनेर परीक्षणका रूपमा काठमाडौँबाट बीउ ल्याएर रोपेँ, भने जस्तै फलेको छ ।” रू पाँचप्रति दानाका दरले आठ किलो आलु बारीमा रोपेकामा त्यसको उत्पादन १२ क्विन्टल भएको उनले बताए ।

    पहिलो पुस्ताको आलुको बीउ भएकाले उत्पादन भएको आलु उनले बीउका रूपमा राखेर पुनः रोप्ने योजना छ । उत्पादित आलुका दाना आधा किलोदेखि दुई किलोसम्मका रहेका छन् । यो आलु थोरै क्षेत्रफलमा धेरै फल्ने, ठूलो फल लाग्ने, खानमा स्वादिलो रहेको उनले बताए । मङ्सिरको दोस्रो साता रोपेको आलु फागुनको पहिलो साता खनेको चौधरीको भनाइ छ । 

    चौधरीले जिल्लाका शीतभण्डारगृह नहुँदा बाह्य क्षेत्रमा लगेर भण्डारण गर्ने तयारी गरेका छन्। “घरमै राख्दा कुहिएर बिग्रिन्छ”, उनले भने, “शीतभण्डारमा राख्नुपर्ने हुन्छ, जिल्लामा एक मात्रै निजी क्षेत्रबाट सञ्चालन हुँदै आएको शीतभण्डारगृह बन्द भएपछि भण्डारण गर्न समस्या भएकाले बाह्य क्षेत्रमा लैजानुपर्ने बाध्यता छ ।” तीन दशकदेखि चौधरी व्यावसायिक आलु खेतीमा संलग्न रहँदै आएका छन् । सो अवधिमा एघार प्रजातीका आलु लगाएर हेरेको उल्लेख गर्दै उनले यति बढी फल्ने आलुको पहिलो पटक खेती गरेको बताए । 


    अन्य जातका आलुको उत्पादन प्रतिकठ्ठा पाँचदेखि सात क्विन्टलसम्म हुने गरेको छ । चौधरीले प्रतिवर्ष १२ कठ्ठादेखि एक विगाहा जग्गामा आलुखेती गर्दै  आएकाछन् । उनले प्रतिवर्ष दुई सयदेखि तीन सय बोरा आलु उत्पादन गर्दै आएका छन् । आलु खेती स्याहार्न चौधरीको पूरै परिवार खटिने गरेको छ । रासायनिक मल थोरै र गोबर मल अधिक राखेर आलुखेती गरे बढी उत्पादन लिन सकिने उनी बताउछन् । 

    आलु उत्पादनको कार्यका लामो समयदेखि संलग्न रहँदै आए पनि बजारमा लगेपछि विचौलिया र व्यापारीले निर्धारण गरेको दररेटमा बिक्री गर्नुपर्दा कुनै बेला लागत नै नउठ्ने गरेको उनी बताउछन् । किसानलाई मर्का नपर्नेगरी सरकारले धान, गहुँलगायत जस्तै आलुको पनि दररेट निर्धारण गर्नुपर्ने उनको माग छ । चौधरी उत्कृष्ट आलु उत्पादन गर्ने किसानका रूपमा तीन पटक पुरस्कृत भइसकेका छन् । 

    पूर्वनगर प्रमुख दीलबहादुर ऐर किसानले उत्पादन गरेको आलुलगायत तरकारी भण्डारण गर्नका लागि शीतभण्डारको व्यवस्थासँगै बजारमा सहज रूपमा बेच्ने व्यवस्था मिलाउने कार्य स्थानीय तहले गर्नुपर्ने बताए ।

    प्रकाशित मिति :चैत्र ३ २०८१ आइतवार - १२:०१:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij