Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा


  • 1.4K
    Shares

    • images
    सिमसार क्षेत्रको अतिक्रमणले कछुवा जोखिममा

    काठमाडौं । सिमसार क्षेत्रको अतिक्रमणले कछुवा उच्च जोखिममा परेका छन् । आहारा तथा उपयुक्त बासस्थानको उपलब्धता कम हुँदा यस्ता प्रजातिको सङ्ख्या घट्न सक्ने अनुसन्धानकर्ताले जनाएका छन् ।  

    मोरङको बेलबारीस्थित बेतना सिमसारमा दुई वर्षअघि सङ्कटापन्न सूचीमा रहेको ‘ब्लाक सफ्टसेल’ नामक कछुवा दुई दर्जनभन्दा बढीको सङ्ख्यामा रहेको वैज्ञानिकको टोलीले पत्ता लगाएको थियो ।हालसम्म नेपालमा कछुवाका १७ प्रजाति र दुई उपप्रजाति फेला परेका छन् । तीमध्ये १३ वटा कडा हाड र चार प्रजातिको नरम खपटा भएका छन् । 

    सिमसारमा रहने कछुवा संरक्षणमा कम महत्व दिँदा कछुवा जोखिममा पर्न सक्ने सम्भावना बढ्दै गएको  प्राणी शास्त्रका उपप्राध्यापक रामचन्द्र अधिकारीले बताए । विगतका वर्षहरूमा प्रशस्त मात्रामा सिमसारमा देखिने कछुवा, पछिल्ला वर्षहरूमा देख्न कम हुँदै गएको बेलबारी–११ का राजन पोख्रेल बताउछन् ।

    राष्ट्रिय प्रकृति संरक्षण कोषका संरक्षण अधिकृत गोविन्दप्रसाद पोखरेलले मोरङका सिमसारमा गरेको एक अध्ययनले सिमसारमा कङ्क्रिटको प्रयोगले गर्दा कछुवालगायत प्रजातिलाई नदी किनारमा आउने तथा फुल पार्नेजस्ता काममा असर गर्न सक्ने उल्लेख छ ।

    मोरङमा करिब एक दशकदेखि सिमसार संरक्षणमा लाग्दै आएका अनुसन्धानकर्ता पोखरेलले हालसम्म एक दर्जनभन्दा बढी कछुवाको उद्धार गरेर विभिन्न सिमसार क्षेत्रमा छाडेको जानकारी पनि दिए । 

    उनका अनुसार कछुवाको ‘अण्डा’बाट भाले वा पोथीको सवालमा तापक्रमले निर्धारण गर्छ ।  औषत तापक्रमभन्दा केही बढी हुँदा पोथी र कम तापक्रम हुँदा भाले निस्कने गर्छ ।  त्यसैले जलवायु परिवर्तनका कारण हुने तापमान वृद्धिका कारण यो प्रजातिको पनि स्वाभाविक रूपमा नै असर गर्न सक्ने उनले बताए ।

    यही प्रजातिको प्रजननमा जलवायु परिवर्तनका कारण के–कस्तो  असर पार्छ भनेर अध्ययन नभए पनि जलवायु परिवर्तनका कारण पारस्थितकीय प्रणालीको ह्रास आउने तथा प्रजातिहरूलाई नकरात्मक असर गर्ने पोख्रेलले बताए ।

    धेरै प्रजातिका कछुवाहरू सिमसारमा आश्रित हुन्छन् । नेपालमा  पाइने कछुवामध्ये इलङ्गेटेट टर्टोइस तीन धर्के कछुवा मात्र जमिनमा पाइने पोख्रेलले बताए ।  मानवीय अतिक्रमण, वन फडानी तथा डढेलोका कारण यस्ता प्रजाति सङ्कटमा पर्ने संरक्षण अधिकृत पोख्रेलको भनाइ छ ।  

    वन फडानी, आगलागी, सहरीकरण, पानीको स्रोतमा ह्रास, वन क्षेत्रमा विषादी फ्याँक्ने गतिविधि, सिकार गर्ने तथा घरमा पाल्नेजस्ता क्रियाकलापले यो प्रजाति झन् सङ्कटमा पर्ने उनले बताए । 

    प्रकाशित मिति :फाल्गुण २७ २०८१ मंगलवार - १४:१९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij