२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सोमबार इटहरीको राधाकृष्ण मन्दिरमा बेहुली पक्षका आफन्त बिहानैदेखि भेला भएका थिए। विवाहको सबै तयारी गरिएको थियो। बेहुला पक्ष जन्तीसहित मन्दिरमा पुगे। जन्ती पुगेपछि बेहुलीलाई बाहिर ल्याइयो।
बेहुली सानी भएको भन्दै चर्चा हुन थाल्यो। कतिपयले कति उमेर रहेछ सोधौँ न भने। बेहुली सानो उमेरको भन्ने अनुमानपछि सबैले मुखामुख गरे। बेहुलीको उमेर नपुगेको हुनसक्ने भन्दै कतिपयले कुरा उठाए। विवाह गर्न पुगेको बेहुला बेहुली पक्ष दुवै विवाह प्रक्रियामा अघि बढ्यो।
उमेर नपुगी किशोरीको विवाह भएको भन्ने बारेमा नगर बाल सञ्जाल इटहरीमार्फत प्रहरीलाई खबर पुग्यो। नगर बाल सञ्जालका प्रतिनिधिसहित प्रहरी विवाह स्थल मन्दिरमा पुग्यो। त्यसपछि प्रहरीले मण्डपबाटै बेहुला बेहुली, उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई प्रहरीले सोमबार दिउँसो पक्राउ गर्यो।
बालविवाह हुँदै गरेको थाहा पाएपछि इलाका प्रहरी कार्यालय इटहरीले इटहरी ९ स्थित राधाकृष्ण मन्दिरबाट सोमबार दिउँसो विवाहको जग्गेबाटै बेहुला र बेहुली (किशोरी), उनीहरूका बुवा र विवाह गराउने पण्डितलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेहरूमा बेहुला इटहरी ११ बस्ने २८ वर्षीय उपेश नेपाल, रामधुनी ६ बस्ने १८ वर्षीय बेहुली, विवाह गराउने पण्डित इटहरी ११ बस्ने ४५ वर्षीय दिनेश कुमार भट्टराई, बेहुलाका बुवा ढुण्डिराज नेपाल र बेहुलीका बुवा दिनेशकुमार दाहाल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
बाल विवाह गर्ने र गराउने बुवाहरू र पण्डित सबैलाई अदालतबाट एक दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमनकुमार तिम्सिनाले जानकारी दिए। उनीहरूलाई बालविवाह कसुरमा आवश्यक अनुसन्धान अगाडि बढाइएको सुनसरीका प्रहरी प्रमुख तिम्सिनाले जानकारी दिए।
प्रहरीका अनुसार दुवै परिवारबीच मागी विवाह भएको जनाइएको छ। केटा केटीबीच प्रेम सम्बन्ध रहेको र उनीहरू भाग्ने अवस्था सृजना भएपछि विवाह गराउन लागिएको आफन्तहरूले बताएका छन्। नेपालको प्रचलित कानुनअनुसार केटीको उमेर २० वर्ष पुगेपछि मात्रै विवाहका लागि योग्य मानिन्छ।
सोमबार विवाहका लागि तयार गरिएकी बेहुलीको उमेर १८ वर्ष मात्रै भएको प्रहरीले जनाएको छ। प्रचलित कानुनको उलङ्घन गरी बालविवाह गराउँदै गरेको पाइएपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij