२०८२ फाल्गुण ३० गते शनिवार
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानिसको भिडभाड हुने सार्वजनिक स्थानहरूमा बेलुका सात बजेपछि सहभागी नहुन अनुरोध गरेको छ ।
बिहीबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै रात्रिकालीन व्यवसायहरू र भिडभाड हुने स्थानमा सहभागी नहुन अपिल गरेको हो । जिम हल, रेस्टुरेन्ट, सिनेमा हल, सपिङ मललगायत भीडभाड हुने स्थानमा सात बजेपछि सहभागी नहुन अनुरोध गरिएको हो ।
मन्त्रालयले कोभिड १९ कारण १४ वटा जिल्लाहरुलाई अति प्रभावित भएको जानकारी दिएको छ । अतिप्रभावित जिल्लाहरू काठमाडौं, ललितपुर, कास्की, रुपन्देही,चितवन, बाँके, पर्सा, मोरङ लगायतका जिल्लाहरूमा भीडभाड भएकाले सुरक्षा अपनाउन अनुरोध गरेको हो ।
देशभर कोभिड १९ सङ्क्रमणको जोखिम बढेको भन्दै मन्त्रालयले यसअघि चैत २५ रात्रिकालीन व्यवसायहरू रेष्टुरेष्ट, होटेल लगायत बन्द गर्न निर्देशन दिएको थियो ।
मन्त्रालयले यसअघि ठूला सहरहरूमा एक हजार र साना सहरहरूमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित देखिएको खण्डमा आवागमनमा कडाइ गर्न निर्देशन समेत दिएको छ । घरबाहिर जाँदा अनिवार्यरुपमा मास्कको प्रयोग गर्न निर्देशन समेत दिइएको छ ।
पछिल्लो २४ घण्टामा देशभर सङ्क्रमित हुनेको सङ्ख्या दैनिक ४ सय नाघेको छ। छिमेकी राष्ट्र भारतमा संक्रमितको सङ्ख्या ह्वातै बढेको कारण पनि देशभर थप सुरक्षा व्यवस्था अपनाइएको छ । भारतमा एकै दिन २ लाखसम्म मानिस सङ्क्रमित हुने गरेका छन् ।
त्यस्तै मन्त्रालयले नेपाल आएर होटेलमा बस्ने विदेशीको हकमा पीसीआर परीक्षण गरेर नेगेटिभ आएको खण्डमा मात्र होटेलमा बस्न दिन अनुरोध गरेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij