२०८२ फाल्गुण ३० गते शनिवार
दक्षीणी छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएसँगै त्यसका प्रत्यक्ष प्रभाव नेपालमा पनि परेको छ । एक साता अघिसम्म १०० को हाराहारीमा भेटिने कोरोना संक्रमित केही दिनयता दोब्बर, तेब्बरको संख्यामा फेला पर्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार सोमबार मात्रै ५५९ संक्रमित फेला परेका छन् । जुन पछिल्लो छ महिनाको उच्च संख्या हो । यसैगरी सोमबार पनि ३०३ जनामा संक्रमण पुष्टि भएको थियो ।
भारतमा कोरोना बढेसँगै नेपालमा पनि संक्रमितको ठूलो संख्या देखिन थालेको जनस्वास्थ्यविद्को भनाइ छ । सीमा क्षेत्रमा कडाइ नगरिनु, स्वास्थ्य मापदणडको पालनामा बेवास्ता, भीडभाडजन्य गतिविधि बढेसँगै देशव्यापी कोरोनाको संक्रमण वृद्धि भइरहेको छ । सरकारले कोरोना नियन्त्रणामा उल्लेख्य कदम चाल्न सकेको छैन् ।
भारतमा कोरोना झण्डै नियन्त्रण बाहिर पुगेको छ । कामको खोजीमा भारत छिरेका नेपाली त्यहाँ कोरोना बढेपछि पुनः नेपाल फर्कन थालेका छन् । कतिपय नेपाली भारतबाटै संक्रमण लिएर गाउँघर पुगिरहेको अवस्था छ । उनीहरूलाई उचित परीक्षण तथा निगरानीको व्यवस्था सरकारले गर्न सकेको छैन । जसले गर्दा नेपालमा कोरोनाले भयावह अवस्था सिर्जना गर्ने भन्दै जनस्वास्थ्यविद्ले चिन्ता व्यक्त गरेका छन् ।
मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री ह्रदयेश त्रिपाठीले संक्रमण डरलाग्दो अवस्थामा पुगेको बताए । ‘डरलाग्दो संक्रमण यस मानेमा छ कि अहिलेसम्म जतिपनि भ्याक्सिन बनेका छन् १८ वर्षमाथिका लागि मात्रै बनेको छ, बालबालिकालाई जोगाउन चुनौती थपिएको छ,’ मन्त्री त्रिपाठीले भने ।
अहिलेकै अनुपातमा कोरोना संक्रमण बढ्दै गए दैनिक ११ हजार संक्रमित थपिने मन्त्रालयको प्रक्षेपण छ । कोरोनालाई समयमै नियन्त्रणमा लिन नसके जेठदेखि असारसम्म ६ लाख संक्रमित पुग्ने उनको भनाइ छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म २ लाख ८० हजार बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये दुई लाख ७४ हजार कोरोनामुक्त भइसकेका छन् ।
विशेषगरी भारतमा कोरोना बढिरहेको र त्यहाँबाट फर्कने नेपालीमा पनि नयाँ प्रकारको भेरियन्ट देखापरेपछि सरकारले रोकथामको तयारी गरेको उनको भनाइ छ । ‘दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको छ’ मन्त्री त्रिपाठीले भने, ‘मुख्य सीमा नाकामा १ हजार बस्न सक्ने होल्डिङ सेन्टर बनाइने तयारी छ । उनले सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्ने कामहरु पनि सरकारले अगाडि बढाएको बताए ।
सरकारले भारतबाट हुन सक्ने जोखिम न्यूनीकरण गर्न सुरक्षात्मक उपाय अवलम्बन गर्ने तयारी गरिरहँदा भारतबाट फर्केका नेपालीमध्ये ठूलो संख्यामा संक्रमण पुष्टि भइसकेको छ । । सरकारको पहिलो कर्तव्य नागरिकको जीवन रक्षा भएकाले त्यसतर्फ केन्द्रीत रहेर सरकारले गतिविधि अगाडि बढाइको मन्त्री त्रिपाठीको भनाइ छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij