२०८२ फाल्गुण ३० गते शनिवार
उन्मुक्त पुस्ताको अङ्ग्रेजीमा अनुदित कविता कृति ‘रोअरिङ फ्लेम्स’ यही शनिबार सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रमबीच लोकार्पण भयो । कृतिबारे सङ्क्षिप्त टिप्पणी गर्दै सामाजिक अभियन्ता कैलाश राईले उक्त कृतिमा समाविष्ट रचनाहरू परिवर्तनका संवाहक भएको दाबी गरिन् । कृति समयको स्वर र भुइँमान्छेको आवाज भएको उनको जिकिर थियो । भाषान्तरका सिलसिलामा कतिपय सांस्कृतिक विम्ब जस्ताको तस्तै आउन नसकेको हो कि भन्ने उनको आशङ्का थियो ।

त्यसैगरी त्रिड्डविड्डका उपप्राध्यापक, उपन्यासकार तथा सबाल्टर्न दर्शनका अध्येता डाड्ड तारालाल श्रेष्ठले कृति साँच्चिकै आगोको भर्भराउँदो लप्का भएको उल्लेख गर्दै आफूले डेढ दशक अघि गर्नुपर्ने काम आज उन्मुक्त पुस्ताले गरेकोमा ईर्ष्या लागेको राय व्यक्त गरे । उनले कृतिमा समावेश कविताहरू वास्तवमै लाल भएको र आगामी दिनमा ती लालबाट दलालमा नफेरियून् भन्ने कामना गरे । सबैजसो कविताहरू उत्कृष्ट रहेको उनको अभिमत थियो । कविता सङ्ग्रह त्रिड्ड विड्ड का विद्यार्थीहरूलाई अत्यन्त मूल्यवान् सन्दर्भ सामग्री हुने उनको भनाइ थियो ।

कार्यक्रममा ‘साहित्य र राजनीतिको अन्तरसम्बन्ध’बारे आफ्ना गहन विचार राख्दै वरिष्ठ कवि तथा गीतकार भूपाल राईले आफूले एक्लै रहेर पनि लामो समय साहित्य राजनीति नै भएको बहस गर्दै आएको र अहिले उन्मुक्त पुस्ताले सोही विचारलाई निरन्तरता दिएकोमा प्रसन्नता व्यक्त गरे । चुलाचौकादेखि लेखनीसम्म राजनीति हुने दाबी गर्दै साहित्यमा राजनीति हुन्न भनेर भन्नु भयङ्कर खतरनाक राजनीति हुने उनको तर्क थियो । अनेक नामधारी लेखकका दृष्टान्त प्रस्तुत गर्दै ती सबैले आ-आफ्नै ढङ्गले राजनीति गरिरहेको उनको स्पष्टोक्ति थियो ।

कार्यक्रमको शुभारम्भ उन्मुक्त पुस्ताका एक अभियन्ता पुरुषोत्तम आचार्यको गीतबाट भएको थियो भने तेस्रो चरणमा उनी लगायत यश लामा, सुशीला निनाम, प्रेमिला राई, सुमन श्रेष्ठले आ-आफ्ना रचना वाचन गरेका थिए । केवल बिनाबी,माधव घिमिरे अटल र मुक्तान थेबाले कार्यक्रमको विभिन्न सत्रको सहजीकरण गरेका थिए । ‘रोअरिङ फ्लेम्स’ मा उन्मुक्त पुस्ताका सत्र जना कविका एकाउन्न कविता समाविष्ट छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij