Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

लोमशको रचना प्रस्तुति स्कलर्स होममा

लोमशको रचना प्रस्तुति स्कलर्स होममा


  • 2.3K
    Shares

    लोमशको रचना प्रस्तुति स्कलर्स होममा
    images

     - नवीन पल्लव
    लोमश वाङ्मय प्रतिष्ठानले रचना वाचनको पहिलो शृङ्खला स्कलर्स होम एकेडेमीमा सम्पन्न भएको छ । दुई दर्जन बेसी स्रष्टाहरूले पृथक् विधाका रचना वाचन गरेको सो कार्यक्रमका प्रमुख अतिथि थिए- दिग्गज कूटनीतिज्ञ, साहित्यकार एवम् जापानका पूर्व राजदूत डा. विष्णुहरि नेपाल ।

    नेपालले लामो समयसम्म अमेरिकामा बेपत्ता भई हालै मात्र सम्पर्कमा आएआफ्नी कान्छी छोरीप्रति समर्पित रचना भावुक हुँदै सुनाए। उनले लोमश ऋषिको परिचर्चा गर्दै प्रतिष्ठानको दीर्घायुको कामना गरे । संस्कृतका अनेक श्लोक सुनाउँदै उनले साहित्य सन्दर्भलाई उठान गरे । आफू जापान रहँदाको प्रसङ्ग कोट्याउँदै उनले साहित्यकार अत्यन्त सम्मानित हुने र परिवर्तनको मसाल झोस्न सारा ब्रह्माण्डभरि साहित्यकार अग्रणी भूमिकामा रहेको बताए ।

    विशेष अतिथि साउथ वेस्टर्न स्टेट कलेजका सहायक प्राचार्य हरिसिंह के.सी.ले प्रमुख अतिथि डा. विष्णुहरि नेपालले प्रस्तुत गरेको कार्यपत्रबारेको प्रसङ्ग कोट्याउँदै डा. नेपालसँग भएको देश, विदेशको ज्ञान भण्डार र मुद्दालाई जोड्ने कुशलताको सराहना गरे । केसीले लोमश वाङ्मय प्रतिष्ठान ऊर्जाशील टिमले यसलाई उचाइमा पुर्‍याउने कुरामा आफू विश्वस्त भएको खुलासा गरे ।

    त्यसरी नै अर्का अतिथि घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधव श्रेष्ठले घुम्ती कविगोष्ठीले नामअनुसार पृथक् पृथक् स्थानमा आफ्नो कार्यक्रम हुने अवगत गराउँदै यदि कसैले साहित्यमय जन्मदिन मनाउन चाहेमा संस्था त्यसका निम्ति तम्तयार भएको बताए । चौधौँ वर्षसम्म अविराम सुसञ्चालित भइराखेको र हरेक दुई वर्षमा नेतृत्व परिवर्तन हुने उक्त संस्था जस्तै नमुना भएर काम गर्न लोमश वाङ्मय प्रतिष्ठानलाई सुझाए ।

    उता सामाखुसी साहित्य समाजका अध्यक्ष भाग्यशाली अधिकारीले संस्थालाई निरन्तरता दिनु चानचुने कुरा नभए पनि लोमशको टिमले यसलाई सफलतापूर्वक अघि बढाउन सक्ने विश्वास प्रकट गरे । एक पृथक् प्रसङ्गमा उनले कुनै बेला आफ्ना रचना वाचन गर्न भक्तपुर वा साहित्य सन्ध्यालाई कुर्नु पर्थ्यो भने अहिले यस्ता संस्थाले जताततै सर्जकहरूलाई सहजीकरण गरिराखेको भनाइ राखे ।

    मार्क्सवादी चिन्तक तथा प्रलेस केन्द्रीय समितिका पूर्व कोषाध्यक्ष कृष्णहरि भट्टले लेखनले यदि श्रमिक र मेहनतकस जनताको सेवा गरेन भने त्यो समन्यायिक चिन्तनको विरुद्ध हुने बताउँदै वर्गीय समाजमा लेखन पिँधका मान्छेका मुद्दाबारे हुनुपर्ने जिकिर गरे । उनले डोनाल्ड ट्रम्पको हालै भएको दोस्रो कार्यकालको निर्वाचन विजयलाई व्यङ्ग्य गर्ने आफ्नो सिर्जना पनि पस्के ।

    स्कलर्स होम एकेडेमीका प्राचार्य सूर्य पण्डितले आफूहरू यस खाले सिर्जनशील कर्मलाई सहयोग गर्न लालायित भएको भन्दै रचना गर्न नसके पनि साहित्य श्रवण गर्नु आफ्नो रूचि भएको अभिमत जाहेर गरे । शैक्षिक संस्थामा यस्ता कार्यक्रम गरी गरिमा बढाइदिएकामा उनले संस्थाप्रति आभार प्रकट गरे  ।

    प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे 'अटल'ले संस्थाको वार्षिक कार्यक्रमको खाका प्रस्तुत गर्दै आगामी दिनमा विधागत कार्यक्रम हुनुका साथै नियमित कृति परिचर्चा हुने अवगत गराए । उनले आगामी कार्यक्रममा अग्रणी पर्यटन व्यवसायी रामप्रसाद सापकोटाकृत 'आधा शताब्दी' कृतिको परिचर्चा हुने जानकारी दिए ।

    WhatsApp Image 2024-11-10 at 13.59.52_af92b471.jpg

    कार्यक्रममा खुसीराम डौलिया, कृष्णहरि भट्ट, साधना पौडेल,  सरस्वती पौडेल, उत्तम विचार,  राधा दुलाल कार्की,  जयराम बिडारी, कमला घिमिरे अधिकारी,  नवीन पल्लव, एन्जल निलु,  मुक्तान थेबा, अप्सरा के.सी., अनुप खनाल, सत्या अधिकारी, भाग्यशाली अधिकारी, माधव घिमिरे 'अटल', सुशान्त न्यौपाने लगायतले आआफ्ना सिर्जना प्रस्तुत गरे ।

    संस्थाका अध्यक्ष माधव घिमिरे 'अटल'को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण सचिव नवीन पल्लवले गरेका थिए आगामी मङ्सिर ८ गते प्रतिष्ठानले खेमराज पोखरेलको हालै विमोचित लघुकथासङ्ग्रह 'एकालाप'माथि परिचर्चा आयोजना गर्न लागेको पनि कार्यक्रममा जानकारी दिइयो । 

    प्रकाशित मिति :कार्तिक २५ २०८१ आइतवार - १३:५७:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij