२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । नेपाली कांग्रेसले सय दिने पार्टी संगठन सुदृढीकरण अभियान सुरू गर्ने भएको छ । उसले सोमबारदेखि नै उक्त अभियान सुरू गर्ने बताए पनि प्रतिनिधिको सूची सार्वजनिक गरिएको छैन ।
कांग्रेसले जिल्लास्तरमै पुगेर समस्याको समाधान गर्ने भएको छ । यसका लागि उसले सबै (७७) जिल्लामा आफ्ना प्रतिनिधि खटाउने भएको हो । पार्टीको माथिल्लो तहबाटै प्रतिनिधिको सूची सार्वजनिक हुने भएकोले अभियान आरम्भमा ढिलाइ भएको कांग्रेस पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद दुलालले बताए ।
उनले भने, ‘यद्यपि ७७ जिल्लाका प्रतिनिधिको टुंगो लागिसकेको छ । तर, सूची सार्वजनिकमा ढिलाइ भएको हो । आज (मंगलबार) वा भोलि (बुधबार)सम्म सार्वजनिक हुने बित्तिकै जिल्ला–जिल्लामा प्रतिनिधिसहितको संगठन सुदृढीकरणका लागि खटिनेछन् ।’
पत्र बुझ्ने बित्तिकै प्रतिनिधिहरूको सूची सार्वजनिक गर्न सकिने समेत उनको भनाइ छ । प्रतिनिधिलाई बैठकका लागि पाँचबुँदे, अभिमुखीकरणका लागि तीन मुख्य र आठ सहायक गरी ११ बुँदे, सदस्यताका लागि चारबुँदे, भ्रातृ संघ तथा सुभेच्छुक संस्था र सम्पर्क समितिको समन्वयका लागि चारबुँदे कार्यादेश तोकिएको छ ।
यस्तै अभिलेखीकरणका लागि तीनबुँदे, पार्टीमा रिक्त भएका पदपूर्तिका लागि दुईबुँदे र स्थानीय तहका जनप्रतिनिधिसँग समन्वयका लागि तीनबुँदे कार्य क्षेत्राधिकार (टीओआर) दिइएको छ ।
कांग्रेसले प्रतिनिधिहरूलाई समसामयिक विषय भनेर नेपाली कांग्रेस र एमालेबीच भएको सातबुँदे सहमतिको विषयमा समेत बुझाएर पार्टी र सदस्यहरूको कर्तव्य सम्झाउने बुँदा राखेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij