२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । साइबर अपराधसम्बन्धी कसुरमा नेपाल प्रहरीको साइबर ब्युरोले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ । उनलाई हिजो (आइतबार) दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
प्रसाईंले रास्वपा कार्यकर्ता ज्वाला (टीका) संग्रौलाविरुद्ध ‘फेक समाचार’ उल्लेख गर्दै आपत्तिजनक अभिव्यक्ति दिएको आरोप छ । अदालतबाट पक्राउ पुर्जी जारी भए पनि प्रसाईंलाई पक्राउ गर्न ढिलाई गरिएको भन्दै संग्रौलाले सामाजिक सञ्जालमा आपत्ति जनाएकी थिइन् ।
काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध गत बुधबार पक्राउ पुर्जी जारी गरेको थियो । प्रसाईंलाई पक्राउ गरेपछि साइबर ब्युरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।
विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ मा कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री प्रकाशनलाई निषेध गरिएको छ ।
तर, प्रसाईंले युट्युवरमार्फत रोक लगाएका सामाग्री प्रकाशन तथा प्रशारण गराएको संग्रौलाको उजुरीमा उल्लेख छ । उक्त उजुरीका आधारमा प्रसाईं पक्राउ परेपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई थोपो रगत रहुँञ्जेल लड्ने बताएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री र प्रसाईंबीच वामयुद्ध नै चलेको थियो । ओलीलाई उनले सार्वजनिक कार्यक्रममै विभिन्न आरोप लगाउनुका साथै गैरजिम्मेवार अभिव्यक्ति दिँदै आएका थिए ।
प्रसाईं पक्राउ परेपछि उनका समर्थकहरूले झापामा विरोध प्रदर्शन गरेका थिए भने तीनवटा ट्रकमा आगजनी गरेका छन् । उनको पक्राउविरुद्ध आज (सोमबार) सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदनसमेत दर्ता भएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij