२०८२ कार्तिक २० गते बिहिवार
काठमाडौं । रास्वपाका तत्कालीन महामन्त्री डा.मुकुल ढकालले सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रास्वपा सभापति रवि लामिछानेलाई लक्षित गर्दै यस्तो आग्रह गरेका हुन् ।
उनले आज (सोमबार) केहीबेर अघि फेसबुकमा रास्वपाका नेता–कार्यकर्तालाई सम्बोधन गर्दै लेखेका छन्, ‘प्रिय रास्वपा मित्रहरू ! हामीले बनाएको पार्टी भ्रष्ट, ठग, दलाल र अपराधीको संरक्षणको लागि होइन । बल्की तिनीहरूको अन्त्य गर्दै विधिको शासन स्थापनाको लागि हो ।’
तपाईंहरूको उर्जा सहकारी ठग बचाउन खर्च हुनु दुर्भाग्यपूर्ण भएको मुकुलले बताएका छन् । उनले लेखेका छन्, ‘तपाईंहरूको उर्जा एउटा सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण हो ।’
नेता–कार्यकर्तालाई ढाल बनाएर पार्टी कार्यालयमा लुक्ने सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाउनसमेत आग्रह गरेका छन् । ‘हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईंहरूलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाईदिनुस् । ताकी कानुनभन्दा माथि कोही हुनुहुन्न् भनेर हामीले देखाउन खोजेको बाटो थप चौडा बन्न सकोस्,’ उनले लेखेका छन् ।
त्यस्तै मुकुलले मुलुकमा विधिको शासन स्थापना गर्ने बेला भएको बताएका छन् । ठग जोसुकै होस्, हाम्रै पार्टीको किन नहोस् ? उसका लागि पार्टी प्रयोग गर्न नहुने समेत सुझाव दिएका छन् ।
‘विधिको शासन स्थापना गर्ने बेला हो । ठग जो सुकै होस्, हाम्रै पार्टीको किन नहोस्, जेलमा कोच्ने बेला हो । कुनै व्यक्ति विशेषको ठगी जोगाउनका लागी पार्टी प्रयोग हुनुहुँदैन, गर्नुहुँदैन,’ मुकुल ढकालले फेसबुकमार्फत रास्वपा नेता–कार्यकर्तालाई सुझाव दिएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij