Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

चितीखोलामा ‘आधा शताब्दी’ मन्थन

चितीखोलामा ‘आधा शताब्दी’ मन्थन


  • 2.8K
    Shares

    चितीखोलामा ‘आधा शताब्दी’ मन्थन
    images

    काठमाडौं । समाजसेवी तथा वरिष्ठ पर्यटन व्यवसायी रामप्रसाद सापकोटाद्वारा लिखित ‘आधा शताब्दी कृतिको परिचर्चा चितीखोलास्थित ग्रीनहिल हिमालय फार्मस्टेमा सम्पन्न भएको छ ।

    सो कार्यक्रमका प्रमुख अतिथि सिद्धलेक गाउँपालिकाका प्रमुख परशुराम खतिवडाले राजनीतिक नेतृत्वले चाहदा पनि कतिपय अवस्थामा सम्बन्धित कर्मचारीबाट अपेक्षाकृत सहयोग नपाउँदा विकास, निर्माणका काम सम्पन्न गर्न अवरोध उत्पन्न हुने गरेको बताए ।  

    एउटा पर्यटन व्यवसायीको जीवनका उहापोह अभिव्यक्त गरिएको पुस्तकले निःसन्देह सार्थक सन्देश दिने उनको भनाइ थियो । पर्यटनको प्रवद्र्धन गर्न सकेमात्र स्थानीय तहले कायापलट गर्नसक्ने उल्लेख गर्दै साहित्यकार र लेखकहरूलाई आफ्नो गाउँपालिकामा अनुकूल समयमा आमन्त्रित गरे ।

    कार्यक्रमका विशेष अतिथि वरिष्ठ पर्यटन व्यवसायी, युवा राजनीतिज्ञ तथा नेपाली कांग्रेस धादिङका पूर्वसभापति रमेश धमलाले पुस्तकको विशद मन्थन गर्दै राजनीतिमा स्वच्छता आए मात्र विकास, निर्माणका काम सम्भव हुने अभिमत राखे । 

    स्वच्छ राजनीतिको सुरुवात गर्न ढिला भइसकेको विचार राख्दै आफ्नै दलमा समेत फोहर(मैला भएको तितो यथार्थ ओकले । तर त्यसलाई सफा गर्न सकिन्छ भन्ने हिम्मतका साथ आफू राजनीतिक रङ्गमञ्चमा हेलिएको उनको स्वीकारोक्ति थियो ।

    स्थानीय जनसेवी राजेन्द्रदेव पाण्डेले पुस्तकको भाषाभन्दा पनि सन्देश महत्त्वपूर्ण भएको विचार व्यक्त गरे । हरेक नागरिकले आ–आफ्नो अभिभारा वहन गर्नसके राष्ट्रको चौतर्फी विकास असम्भव नहुने दाबी गर्दै सहजै धान्न सक्ने आफ्नो सहरीया जीवन त्यागेर गाउँ फर्किने निष्कर्षमा पुगेकोमा कुनै पछुतो नलागेको उनको अभिप्राय थियो । 

    उद्यमशीलतामा आफू दृष्टान्त बन्न चाहेको भन्दै स्थानीयवासीलाई समेत घरबास (होमस्टे) सञ्चालन गर्न तथा उत्पादनमा दत्तचित्त भई लाग्न उनले उत्प्रेरित गरे । टोल छिमेकमा प्रेरणापुञ्ज बनेका पाण्डेले सामूहिक कामबाट सामूहिक लाभ लिन स्थानीयवासीलाई सुझाए ।

    लेखक रामप्रसाद सापकोटाले आफू खासमा लेखक नभएको तर आफ्ना निजी अनुभव विनिमय गर्दा यदि समाज र सम्बन्धित क्षेत्रलाई थोरै भए पनि लाभ हुन्छ भने किन नगर्ने भन्ने सदाशयका साथ आफूले पुस्तक लेखेको बताए । बोल्नुपर्ने सबैजसो कुरा आफूले कृतिमै उल्लेख गरिसकेको भन्दै कृतिमा वर्णित अनुभवमा कुनै छलछाम र आत्मश्लाघा नभएको प्रस्ट्याए ।

    परिचर्चाकार डा.विन्दु शर्माले कृति नयाँ व्यवसायीलाई अत्यन्त उपयोगी हुन सक्ने दाबी गर्दै यसमा व्यवसाय सञ्चालन गर्दाका पीडा र नियम अभावले व्यवसायीलाई पर्ने गरेको मर्का आद्योपान्त समेटिएको उल्लेख गरिन् । 

    त्यसैगरी अर्का परिचर्चाकार तथा सुपरिचित समालोचक राजकुमार बानियाँले कृति समग्रमा एक पर्यटन व्यवसायीको आरोह(अवरोहको ऐना भएको राय राख्दै यसमा आफू महान् भएको भन्ने कुनै आत्मरती पुस्तकमा नभएको अभिमत राखे ।

    कार्यक्रमका संयोजक तथा यो कालखण्डका सुपरिचित नियात्राकार राजेन्द्रमान डङ्गोलले कृतिकार रामप्रसाद सापकोटाको सङ्क्षिप्त परिचय दिँदै उनको इमान्दार लेखनको मुक्तकण्ठले प्रशंसा गरे । 

    रामप्रसाद सापकोटाको लेखकीय व्यक्तित्वबारे छोटो भनाइ राख्दै अर्का वरिष्ठ पर्यटन व्यवसायी राजेन्द्र सुवेदीले कृतिकारको लगन र इमानको सराहना गरे । यसै गरी फार्म हाउस सञ्चालक गीता अधिकारीले फार्मस्टे सञ्चालनका सहजता तथा असहजताबारे अनुभव साझा गर्दै यस्तो कार्यक्रम आयोजना गर्न पाउँदा हर्ष विभोर भएको अभिमत राखिन् । 

    कार्यक्रममा नागार्जुन वाङ्मय प्रतिष्ठानका अध्यक्ष दिल पौडेल, पार्वती भट्ट, प्रभा बराल, नवीन पल्लव, सञ्चारकर्मी जयराम बिडारी, रामप्रसाद सापकोटा, राजेन्द्रमान डङ्गोललगायत एक दर्जन सर्जकहरूले रचना वाचन गरेका थिए ।

    प्रकाशित मिति :भाद्र ३० २०८१ आइतवार - ११:४१:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij