२०८२ भाद्र १६ गते सोमवार
कुञ्ज नाटक घरमा हाल गुरुप्रसाद मैनालीद्वारा लिखित कथामा आधारित नाटक ‘कर्तव्य’ मञ्चन भइरहेको छ। साउन ८ गतेबाट प्रदर्शन सुरु भएको यो नाटक २३ गतेसम्म चल्नेछ।
‘कर्तव्य’ नाटक शिल्पशाला इन्टरनेशनलले निर्माण गरेको हो र यो कक्षा दशको नेपाली विषयको पाठ्यक्रममा समावेश कथा ‘कर्तव्य’ को नाट्य रूपान्तरण हो। पाठ्यक्रममा समावेश कथालाई मञ्चमा हेरेर बुझ्न र थप व्याख्या गर्न विद्यार्थीहरूका लागि यो नाटक उपयोगी हुनेछ। अन्य उमेर समूहका दर्शकहरूले पनि यस नाटकबाट तत्कालीन नेपालको सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक, र शैक्षिक परिवेशलाई बुझ्न सक्नेछन्। यो नाटक सबै उमेर समूहका दर्शकलाई लक्षित गरी तयार गरिएको छ।
नाटक हरेक बिहीबार, शुक्रबार, शनिबार, र आइतबार साँझ ५:३० बजे प्रदर्शन भइरहेको छ भने शनिबार दिनको १:३० बजे अतिरिक्त प्रदर्शन पनि गरिएको छ। विद्यालयहरूको सुविधालाई ध्यानमा राखी अन्य समयमा बुकिङ सोहरू प्रदर्शन गर्ने व्यवस्था पनि गरिएको छ।
नाटक हेरिसकेपछि विद्यार्थीहरू र अन्य दर्शकहरूले कथावस्तु, कलाकारहरूको भूमिका र अभिनयले नाटकलाई जीवन्त र उत्कृष्ट बनाएको प्रतिक्रिया दिएका छन्।
गुरुप्रसाद मैनाली नेपाली साहित्यमा परिचित नाम हुन्। उनले आफ्नो लेखनमार्फत निम्न तथा मध्यम वर्गका मानिसहरूको कथा व्यथा साहित्यमा स्थान दिलाए। उनको लेखनले तत्कालीन समयको समाज सुधार, राष्ट्रियता, र मानवतावादी दृष्टिकोणलाई समेटेको छ।
‘कर्तव्य’ कथा दुई विपरीत सिद्धान्तको प्रतिनिधि पात्र दुई दाजुभाइको द्वन्द्व मार्फत तत्कालीन नेपालको सामाजिक, सांस्कृतिक, आर्थिक, र शैक्षिक पक्षलाई उजागर गर्छ।
कथामा गंगाधर मुखियाका दुई छोराहरू मुरलीधर पण्डित र श्रीधर शर्मा बिचको द्वन्द्व देखाइएको छ। दाजु पुरानो संस्कार, नैतिकता, र इज्जतको प्रतिनिधित्व गर्छन् भने भाइ नयाँ सोच, ऐन कानुन, र प्रगतिशील विचारधाराको प्रतिनिधित्व गर्छन्।
मैनालीले कथा मार्फत पुरानो र नयाँ पुस्ताको सँगसँगै चल्न सक्ने आदर्श समाजको परिकल्पना गरेका छन्। कथाले मानवको मानवीय कर्तव्य निभाउनको लागि विवेकको प्रयोग गर्नुपर्ने सन्देश दिन्छ।
नाटकबारे हामीलाई प्रस्ट पार्दै, परियोजना संयोजकस् कोमल अधिकारीले बताए । नाटकले दर्शकलाई तत्कालीन समाजको यथार्थ बुझ्न सघाउने मात्र नभएर हिजोको समाजसँग आजको समाज तुलना गर्न आधार खडा गरेको छ, नाटकमा कलाकारहरूको जीवन्त अभिनयले कथाको सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।
त्यसै गरी नाटकबारे बोल्दै, शिल्पशाला इन्टरनेसनलका निर्देशक, कैलाश कुमार कार्किले बताए । यो नाटक नयाँ पुस्तालाई रङ्गमञ्चमा आकर्षित गर्न र विद्यालयमा पढ्दै गरेका विद्यार्थीलाई प्रेरित गर्न लक्षित गरिएको छ।
अहिले कुञ्ज नाटक घर, थापा गाउँ, बानेश्वरमा साउन ८ गतेबाट नियमित मञ्चन भइरहेको यो नाटक साउन २३ गतेसम्म प्रदर्शन हुनेछ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij