Logo

२०८२ भाद्र १६ गते सोमवार

२०८२ भाद्र १६ गते सोमवार

एक दृष्टि ‘‘शाश्वत आकृति’’ मा

एक दृष्टि ‘‘शाश्वत आकृति’’ मा


  • 18.0K
    Shares

    एक दृष्टि ‘‘शाश्वत आकृति’’ मा
    images

    विषय प्रवेशः

    विक्रम संवत् २०५८ सालमा ‘छहरा’ साहित्यक पत्रिकामा ‘अनुपस्थिति’ शीर्षकको कविता प्रकाशन गरी औपचारिक रुपले नेपाली साहित्यको क्षेत्रमा प्रवेश गरेकी राधा कार्की बहुप्रतिभाशाली साहित्यकार हुन् । २०७० सालमा ‘‘संवाहक’’ शीर्षकको  लघुकथा सङ्ग्रह, २०७५ सालमा ‘‘पप्पी र पट्टु’’ शीर्षकको बालकथा सङ्ग्रह र २०७८ सालमा ‘‘शाश्वत आकृति’’ शीर्षकको कविता सङ्ग्रह लिएर राधा कार्की नेपाली साहित्यको रङ्गमञ्चमा उपस्थित भएकी छिन् । विभिन्न विद्युतीय तथा छापाका माध्ययमहरुमा समेत बेलाबखत आफ्नो साहित्यिक सिर्जना प्रकाशित गर्दै आएकी कवि राधा कार्कीको ‘‘शश्वत आकृति’’ बहुआयामिक कविताहरुको सङ्ग्रह हो ।

    ‘‘शाश्वत आकृति’’ भित्रका कविताका प्रवृत्तिगत विशेषताहरुः

    कविता भावना, संवेग र विचारको कलात्मक अभिव्यक्ति हो । ‘‘शाश्वत आकृति’’ मा सङ्ग्रहित कविताहरुले विषय–वस्तुका विविध प्रवृत्तिगत दृष्टिकोणका आयामहरु निर्माण गरेका छन् । ‘‘शाश्वत आकृति’’ मा विभिन्न प्रकृति, मानव समाज र मानवीय स्वभाव र चरित्रका विभिन्न रङ्ग र आयाम अभिव्यक्त गर्ने ५२ वटा लामा छोटा कविताहरु सङ्ग्रहीत गरिए छन् । कविताका लय र भाव कवि हृदयको स्पन्दन हो । कविता शब्दहरुको लयात्मक वाक्य संरचनामा अभिव्यक्त हुने रसात्मक र व्यञ्जना हो । विचार र दृष्टिकोण, भावना र संवेग, कल्पना र यथार्थताका त्रिवेणीको रुपमा सलल बगेका छन् ‘‘शाश्वत आकृति’’ का कविताहरु । प्रवृत्तिगत दृष्टिका हिसाबले यस कविता सङ्ग्रहमा सङ्ग्रहीत गरिएका कविता सामाजिक विकृति र विसंगति विरोधी आवाज, देशप्रेमको भावना, आत्ध्यात्मिका आस्था, असंगत समय, विकृत राजनीति, परिवर्तनकारी चेत,  प्रेमिल भावना र अस्तित्ववादी चेतानाका संवाहक बनेर उभिएका छन् ।

    आप्mनो कविता सङ्ग्रह ‘शाश्वत आकृति’’ रचनाको पृष्ठभूमिबारे राधा कार्की भन्छिन्— ‘बाल्यकालमा आमा गुमाउँदाको पीडा होस् वा बुबाको अन्तिम संस्कारमा जुट्दाको समय, वयस्कमा असमानता विरुद्ध  लड्दाको समय होस् या लोकतान्त्र स्थापित गराउन खटेको समय, समाज, राज्य र विश्वशान्तिको कामना गर्दै मन निरन्तर हिंडिरह्यो ।’ खासमा उनको जीवनले भोगेका यही यात्राका क्रममा आसिल गरेकी ज्ञानहरुको काव्यात्मक अभिव्यक्ति हो यो— ‘‘शास्वत आकृति’’ । ‘‘शाश्वत आकृति’’ लाई नै शुभकामना मन्तव्य अर्पण गर्ने क्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका तत्कालीन कुलपति श्री गङ्गा प्रसाद उप्रेती भन्नु भएको छ— ‘जीवन भोगाइका आप्mना बहुरङ्गी अनुभवलाई भावना, कल्पना तथा संवेगद्वारा सिँगारेर सरल भाषा र बोधगम्य बिम्बमा उनिएका उनका सबैजसो कविताहरु जीवन र जगतप्रति सकारात्मक सोंच सम्प्रेषण गर्न सफल भएका छन् ।’ यिनै स्वीकारोक्तिहरुमा आलम्बित भएर हेर्दा ‘‘शाश्वत स्वीकृति’’ बहुआयामिक कविताहरुको सङ्ग्रह हो भन्न गाहारो पर्दैन ।

    ‘‘शाश्वत आकृति’’ भित्रका कविताः

    ‘शाश्वत आकृति’, ‘प्रतिरुप’, ‘मीठो संयोग’, ‘समयको कुइनेटो’, ‘कान्छीको संवेदना’, ‘श्रमको सबाई’, ‘त्रासद पर्खाल’, ‘दिग्भ्रम’, ‘अपरिचित यात्रा’, ‘स्वाभिमानका पहाडहरु’, ‘आदर्श मानव’, ‘भयानक सन्नाटा’, ‘उन्मुक्ति’, ‘अभिलाषा’, ‘न्याय मरेपछि’, ‘तिम्रो स्मृतिमा’, ‘प्रण’, ‘पथप्रदर्शक’, ‘अनुभूतिहरुको जुलुस’, ‘सपनाको ध्रुवतारा’, ‘आस्थाको विचलन’, ‘पीडाको सारङ्गी’, ‘छाप्राको मौलिकता’, ‘जीवनचक्र’, ‘बलिदानको रङ्ग’, ‘सपनाको पिरामिड’, ‘मन र ढुङ्गा’ ‘जब्बरेको गीत’, ‘संयोग’, ‘सिर्जनशील हातहरु’, ‘प्रेमिल झुपडी’, ‘देशको क्यानभास’, ‘अड्कलबाजी’, ‘आकाङ्क्षा’, ‘कविताको कैरन’, ‘समयको हुण्डरी’, ‘वीर नायकहरु’, ‘अँधेरी रात’, ‘बहुमूल्य चित्रपट’, ‘भुइँमान्छे’, ‘जिन्दगीः एक खाल’, ‘ग्रहण लागेको रात’, ‘समताको आकाश’, ‘शान्तिको धुन’, ‘स्वान्त इतिहास’, ‘भरोसाका लयहरु’, ‘जीवन्त गीत’, ‘सिर्जनाको रङ्ग’, ‘माकुरी जाला’, ‘सग्लो परिचय’, ‘श्रमका इन्द्रेणी’ र ‘कहर विरुद्ध’ जस्ता प्रकृति, मानव समाज र मानवीय स्वभाव र चरित्रका विभिन्न रङ्ग र आयाम अभिव्यक्त गर्ने कविताहरु रहेका छन् ।

    ‘‘शाश्वत आकृति’’ भित्रका कविताहरुको प्रवृत्तिगत चर्चाः

    यस सङ्ग्रहभित्रका कविताहरु विभिन्न दृष्टिकोण तथा प्रवृत्तिको संवाहक बनेका छन् । यिनका बारेमा प्रवृत्तिगत आधारमा सामान्य चर्चा गर्नु सान्दर्भकि देखिन आएको छ ।

    १. सामाजिक विकृति र विसंगतिविरुद्धका स्वरः

    ‘शाश्वत आकृति’, कान्छीको संवेदना’,  ‘श्रमको सबाई’, ‘त्रासद पर्खाल’, सामाजिक विकृति र विसंगतिविरुद्ध स्वरहरु अलाप्ने कविताहरुका प्रतिनिधि कविता हो ‘शाश्वत आकृति’ । यस कवितामा कवि भन्छिन—

    म देख्न सक्दिनँ

    निमोठिएका हजारौं कोपिलाहरु

    म देख्न सक्दिनँ

    उखलिएका सहस्र श्रीखण्ड र पारिजातहरु

    म देख्न सक्दिनँ

    धुवाँधुलोले छोपिएको शरीर

    म देख्न सक्दिनँ

    यो धर्तीको धमिलो आकृति ।’ (पृष्ठ– ३१) ।

    २. देशप्रेमको भावनाले ओतप्रोत भएका कविता :

    ‘प्रतिरुप’, ‘दिग्भ्रम’, ‘अपरिमित यात्रा’, ‘देशको क्यानभास’, ‘शान्तिको धुन’, ‘स्वान्त इतिहास’, ‘माकुरी जालो’,  कविताहरु देशप्रेमको भावनाले ओतप्रोत भएका राष्ट्रवादको स्वर गुनगुनाउने कविता हुन् । शसक वर्गले गरेका अनेकौं देशद्रोही क्रियाकलापबाट आजित भएर देशको खोजीमा निस्किएका लाखौं युवाहरुको मनमा जन्मभूमि प्रतिको आस्था जागरुक गराउने उद्देश्यले रचना गरिएको कविता हो— ‘प्रतिरुप’ । यस कवितामा कवि भन्छिन्—

    ... स्वाभमानको झण्डा पहराउँदै

    म लेख्न चाहन्छु—

    मेरो देशको सजीव गीत । (पृष्ठ– ३४ ) ।

    ‘... एकाएक स्खलित भए

    ऋाजती विश्वासका पात्रहरु

    ज्सले आमालाई सुरक्षा दिन सकेनन्

    जसले माटोको सुगन्ध बुझेनन् ... ..।’ (‘दिग्भ्रम’, पृष्ठ– ४६) ।

    ३. आत्ध्यात्मवादी दृष्टिकोणका कविता :

    ‘प्रतिरुप’ प्रतिकात्मक कविता हो । यसमा उनले आपूm र वसु बीचको सम्बन्धलाई रोचक ढङ्गले काव्यिक लयमा प्रस्तुत गरेकी छिन् । खासमा ‘वसु’ को शाब्दिक अर्थ— आठ वैदिक देवताहरुको समूह हो । यो समुदायलाई रत्न, रत्न, धन, सुवर्ण, अग्नि, जल सूर्यको प्रतिनिधि मानिन्छ । यस कविता मार्फत् उनी आफ्नो अध्यात्मवाद प्रतिको दृष्टिकोण यसरी व्यक्ति गर्छिन्—

    ‘....मेरो वसु समयसँगै हातेमालो गर्छ !

    तरल मेरो मन सरोवरमा बवेर

    बाँसुरी बजाउँछ ।’ (पृष्ठ— ३६ ) ।

    ४. असंगत समयमा बाँच्न विवश जिन्दगीको कथा बोकेका कविताः

    ‘समयको कुइनेटो’, ‘स्वाभिमानका पहाडहरु’, ‘भयानक सन्नाटा’, ‘न्याय मरेपछि’, ‘पीडाको सारङ्गी’, ‘छाप्राको मौलिकता’, ‘जीवनचक्र’, ‘सपनाको पिरामिड’, ‘मन र ढुङ्गा’, ‘जब्बरेको गीत’, ‘अड्कलबाजी’, ‘कविताको कैरन’, ‘आँधेरी रात’, ‘जिन्दगीः एक खाल’, ‘ग्रहण लागेको रात’, ‘श्रमका इन्द्रेणी’, ‘कहर विरुद्ध’ शीर्षकका कविताहरु असङ्गत समयमा बाँच्न विवश जिन्दगीको कथा अभिव्यक्त गर्ने कविताहरु हुन् । यस्ता कविताहरुको प्रतिनिधि कविता हो — ‘‘समयको कुइनेटो ।’ जुनकिरीलाई प्रतिनिधि पात्र बनाएर लेखिएको ‘समयको कुइनेटो’ प्रतिकात्मक कविता हो । यसमा कवि भन्छिन्—

    ‘फफनी घुमिरहन्छन्

    पट्यारलाग्दा रातहरु

    बन्दैनन् ती दिनहरु

    जुनकिरीले जतिसुकै पिँध बाले पनि ।’ (पृष्ठ– ३८ )।

    ५. राजनीतिक विकृतिका विरुद्ध आवाज बोकेका कविताहरुः

    देश र जनताको जीवनमा विकास र समृद्धिको सुन्दर विहानी ल्याउने भनेर राजनीतिको कठीन र बलिदानीपूर्ण बाटोमा हिँडेका राजनीतिक नेताहरु जब शासनसत्तामा विराजमान हुन पुग्दछन् तिनमा विगतका निरङ्कुश र आततायी भनेर मिल्काइएका शासन व्यवस्था र शासकीय चरित्र अवतरित हुन आएको कटु यथार्थलाई कवि राधाले आफ्नो कविता मार्फत् मर्मस्पर्सी ढङ्गले व्यक्त गरेकी छिन् । राजनीतिक विकृतिका विरुद्ध आवाज बोकेका कविताहरुको प्रतिनिधि कविता बनेर उभिएको कविता हो— ‘बलिदानको रङ्ग’ । यस कवितामा उनी भन्छिन्—

    ‘हिजोसम्म यिनका टाउकामा

    अरुका लागि ठाउँ थियो

    हिजोसम्म यिनका मुटुमा

    अरुका लागि स्नेह थियो

    हिजोसम्म यिनका शरीरमा

    आफ्नै रगत र पसिनाको रङ्ग थियो

    जब विचलित भए यिनीहरु

    तब सुकेर गयो

    यिनको शरीरबाट रातारात

    आँसु र बलिदानको रङ्ग ।’ (बलिदानको रङ्ग’, पृष्ठ– ७९) ।

    ६. परिवर्तनकारी चेत बोकेका कविताहरुः

    ‘आदर्श मानव’, ‘उन्मुक्ति’, ‘प्रण’, ‘पथ प्रदर्शक’, ‘अनुभूतिहरुको जुलुस’, ‘सपनाको ध्रुवतारा’, ‘सिर्जनशील हातहरु’, ‘प्रेमिल झुपडी’, ‘समयको हुण्डरी’, ‘वीर नायकहरु’, ‘भुइँमान्छे’, ‘सिर्जनाको रङ्ग’, परिवर्तनकारी चेतनाप्रवाह गर्ने कविताहरु हुन् ।  ‘आदर्श मानव’ कवितामा कवि भन्छिन्—

    ‘जबसम्म

    विभेद रहन्छ धर्तीमा

    तबसम्म

    निरन्तर गाइरहने छ ऊ

    उन्मुक्तिका बुलन्द गीतहरु ।’ (पृष्ठ– ५३ )।

     

    ७. प्रेमिल कविताहरुः

    प्रेम विनाको जीवन र जीवन विनाको प्रेम मानव जातिले कल्पनासम्म पनि गर्न सक्दैन भन्ने कुरा मानिस स्वभावैले सामाजिक प्राणी हो भन्ने सार्वभौम सच्चाइलेले प्रमाणित गर्दछ । यही सर्वव्यापी सत्यलाई अँगालेर कविले प्रेममय भावनाबाट निसृत भएका कविताहरु पनि यस सङ्ग्रहमा समावेश गरेकी छिन् ।

    ‘अभिलाषा’, ‘तिम्रो स्मृतिमा’, ‘आस्थाको विचलन’, ‘संयोग’, ‘जीवन्त गीत’, कवितामा आफ्नो जीवनदायी प्रेम यसरी अभिव्यक्त गर्छिन्—

    ‘तिमी स्वीकार गर या नगर

    मेरो मुटुको प्रिय धुन !

    मेरा लागि त

    तिमी नै हौ— क्षितिजको जून ।’ (‘अभिलाषा’, पृष्ठ– ५९) ।

    ८. अस्तित्ववादी चेताना बोकेका कविताः

    अस्तित्ववादी चेतनालाई प्रस्थान विन्दु बनाएर लेखिएका कविताहरुलाई पनि राधाले यस सङ्ग्रहमा  निर्धक्कसँग आबद्ध गरेकी छिन् । ‘आकाङ्क्षा’, ‘समताको आकाश’, ‘भरोसका लयहरु’, ‘सग्लो परिचय’ कविताहरु आस्तित्ववादी रङ्गले रङ्गिएका कविताहरु हुन् । ‘आकाङ्क्षा’ कविता यिनै अस्तित्ववादी कविताहरुको प्रतिनिधि भएर उभिएको छ । यस कविता मार्फत् राधा भन्छिन्—

    ‘... मलाई त

    मान्छेहरुको संसारमा

    मान्छे नै भएर बाँच्नु छ !’ (आकाङ्क्षा, पृष्ठ– ९३)।

    अन्त्यमा,

    हरेक साहित्यिक सिर्जनाहरु खास विचार र दृष्टिकोणको प्रवाहको माध्यम हुन् । कविताहरु पढ्दा यस्तो लाग्छ, कष्ठसाध्य नेपाली समाज र जीवनका भोगाइका अनेकन आरोह र अवरोहका कथाहरुलाई कविताका सुन्दर हरफहरुमा बुनेकी छिन् । यस सङ्ग्रहले कवि राधा कार्की समकालीन नेपालको साहित्यिक फाँटमा प्रभावशाली कविका रुपमा स्थापित हुन आइपुगेकी छन् । आगामी दिनहरुमा सामाजिक न्याय, स्वतन्त्रता र समानता प्राप्तिको निम्ति साहित्यकार राधा कार्कीबाट गहकिला र सुन्दर साहित्यिक कृतिहरुको रचना होस् भन्ने कामना गर्दछु ।

    २०८१ असार ३ गते ।

    प्रकाशित मिति :श्रावण ७ २०८१ सोमवार - ०६:०९:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij