काठमाडौं । ज्ञानशाला अनुसन्धान केन्द्र, खुशीबुँमा प्राध्यापक दमनबहादुर सिंहको एकल कविता बाचन कार्यक्रम सम्पन्न भएको छ ।
पाँच कविता बाचन पश्चात् कार्यक्रममा उपस्थित सबै कविहरूले उनका कवितामाथि टिप्पणी गरेका थिए ।
उनले बाचन गरेका कविताहरूमा ‘सङ्गत’ मा खराब मान्छेहरूको बिचमा एकजना सज्जन कसरी खराबै बन्न बाध्य हुन्छ भन्ने कुलालाई मार्मिक ढंगले शब्दमा उनिएको छ । ‘रारालाई भेट्दा’मा राराको सौन्दर्यलाई जीवन्त ढंगले चित्रण गरिएको छ । ‘आमा’ कवितामा आमालाई ‘ममी’ले विस्थापित गरेकोमा गहिरो चिन्ता व्यक्त गरिएको छ भने ‘अनौठो शोक’मा जनयुद्धमा राज्य र माओवादीका तर्फबाट मारिएका र चेपुवामा परेकाहरूको पीडालाई कविले गहिरो गरी अनुभुत गरेका छन् ।
‘मैले राजनीति गर्न जानिन बा !’ मा अहिलेको राजनीतिक परिवेशमा ‘ठाउँमा पुग्न’ गरिने चाकडी र चाप्लुसीलाई याथार्थपरक ढंगले सतहमा ल्याउने प्रयास गरिएको छ ।
यस कविता बाचनको एउटा नौलो र रोचक पक्ष भनेको कविले कविता बाचन गरिसकेपछि सबैले पालैपालो कवितामाथि टिप्पणी गर्नु रहेको छ ।
प्राध्यापक चूडा ढकालको परिकल्पना र सहजीकरणमा सम्पन्न उक्त कार्यक्रम ज्ञानशालामा पाक्षिक रुपमा निरन्तर संचालन हुने जानकारी संस्थाका अध्यक्ष भोला ढकालले दिए ।
कार्यक्रममा कवि तथा लेखकहरू प्राज्ञ डा. कौशिला रिसाल, सुवास देवकोटा, केशव नेपाल, गौरी देवकोटा, लुमणि प्रसाद खनाल, ध्रुव प्रसाद लुईंटेल, कल्पना न्यौपाने, दुर्गा चालिसे, भक्ती शर्मा लामिछाने, शनश्याम न्यौपाने, समिर सिंह, बिजयराज न्यौपाने आदिको उपस्थिति रहेको थियो ।