२०८२ भाद्र १६ गते सोमवार
झलमल सीताराले जडेको
चमचम चम्किने
ब्रह्माण्डको फराकिलो
आकाशगङ्गा लाग्छ मलाई
आमोईको खास्टो ।
मगमग सुगन्धित
जाईफूलको बासना मिसिएको
अपार स्नेहको फेरोमा
मदहोस भएर
लुटपुटिन पुग्छु
स्नेही काखमा
यति बेला मैले महसुस गरेको स्वर्ग
आमोईको निश्चल मायामा
करुण नयनभित्रको वात्सल्य हो ।
युग ओढेको बुढो घाम भएर
वर्षाइरहेछ लहलह सजीवनमा
प्राणको वर्षा
भत्केका भित्ताहरूमा
लिप्दैछ लिउन
मक्किएका सम्बन्ध
हरेक साँझ दियोमा तेल थपेर
उज्यालो प्रभाती आशीर्वाद दिने
सम्झिरहेछु तिनै तथास्तु हत्केला
जहाँबाट सुरू हुन्थ्यो हाम्रा
नव उत्साहको झिल्को
आज तुसारे शिशिरमा
घाम बनेर ओत दिँदैछ
आमोईको खास्टो ।
सन्दुकको कुनामा
हिउँद वर्षा खेप्दै
सुख दुःखको अनुभूति समेट्दै
कलेटी ओठमा फिस्स हाँसो बोकेर
पारिजातको जीवन काट्दैछ
कति होलान् भन्नुपर्ने कुरा
कैयन् प्रश्नहरू आफैँभित्र बोकेर
हाम्रा उत्तरमा आफैँ घुल्न सक्ने
वीर, वीराङ्गनाको इतिहास खोतल्दै
वेदका ऋचा गुनगुनाइमा
पवित्र अमृत जलधारा कल्कलाउने
सुमधुर वाणीमा
साँझ ढल्केपछि पहरा दिन्छ
सफा सेतो स्फटिक झैँ
जुनेली आमोईको खास्टो ।
भन्नुहुन्छ आमोई
को हुँदैन र बुढो
कसलाई पो पर्दैन र पीडा
को नै होला र दुधले नुहाएको ?
सुखमा कहिल्यै नमात्तिनू
दुःखमा किमार्थ नआत्तिनू
आफू भलो त जगत भलो
जन्मेर आएपछि आफैँलाई चिन्नू
जन्मदिने बा आमा ईश्वर हुन् शिरमा राख्नू ।
महाप्रस्थान गर्नुअघि मेरा हातमा
थमाएर खास्टो
भन्नुभो आमोईले
संसारमा आएपछि जानुपर्छ
जानुअघि संसार प्रेमले बदल्नू
इज्जत किनबेच हुँदैन नानी
इमान, आबरु खास्टोमा यिनै सितारा झैँ
बर्करात राख्न
जून बनेर अस्ताउनू
घाम बनेर उदाउनू ।
हिजो सम्झिन्छु
आमोई खास्टो ओढाउनु हुन्थ्यो
तँ र म हैन हामी भएर ओढ्थ्यौँ खास्टो
हिमाल, पहाड र तराईको सुगन्ध थपिन्थ्यो
उहाँ सम्झाउनु हुन्थ्यो
भेदले विभेद निम्त्याउँछ
मेरो निम्ति सबै सबै मुटुका टुक्रा हौ
हामीले शिशिर, वसन्तको मधुरता
ओढ्यौँ खास्टोमा
आज
आमोईको खास्टो धुजा धुजा हुँदै गर्दा
म टुक्रा टुक्रामा टुक्रिएको छु
हामीले भेदको पासोमा विभेद निम्त्याइरह्यौँ
ब्रम्हाण्ड भागबन्डा गर्ने होडबाजीमा
आफ्नै संसार
संहारमा जुट्यौँ
आमोईको खास्टो
खास्टो मात्रै हैन
विश्व सम्पदा हो
ओजोन तह हो ।
-रूबी सत्याल
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij