२०८२ भाद्र २२ गते आइतवार
काठमाडौं । शुक्रबार नयाँ चलचित्र प्रदर्शन गर्ने गरिन्छ । यद्यपि शुक्रबार कुनै नयाँ चलचित्रको प्रदर्शन गरिएको छैन । जेठमा दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै छन् । बाँकी तीन साता कुनै चलचित्रको प्रदर्शन तय गरिएको छैन ।
यही जेठ १० मा ‘फर्की फर्की’ र ‘पुजार सार्की’ तथा जेठ २५ मा ‘लन्डन टू पेरिस’ र ‘गाउँ आएको बाटो’ चलचित्र प्रदर्शन हुँदैछ । जेठमा पाँच शुक्रबार भएता पनि दुई साता मात्र चलचित्रको भिडन्त छ । बिदा र उचित समय देखेर नै यी प्रदर्शन मिति घोषणा गरिएका हुन् ।
‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले आफूले पहिले नै चलचित्रको प्रदर्शन मिति तय गरिएको बताए । उनले भने, ‘हामीले खाली समय हेरेर प्रदर्शन घोषणा गरेका हौँ, हामीले कसैसँग प्रतिस्पर्धा गर्न गएका होइनौँ, हामी विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्ने तयारीअनुरुप आएका हौँ ।’ उहाँले आफ्नो चलचित्रमा ‘टाइम लुप’ को नयाँ ‘कन्सेप्ट’ हेर्न पाइने बताए ।
सुयोग गुरुङले निर्देशक गरेको चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ललगायत कलाकारले अभिनय गरेका छन् । सोही मितिमा प्रदर्शन हुने अर्को चलचित्र ‘पुजार सार्की’ लाई निर्देशक दिनेश राउतले निर्देशन गरेका छन् । जातीय र वर्गीय विभेदको कथालाई मिश्रित समाजको पृष्ठभूमिमार्फत देखाइएको चलचित्रले ‘जात होइन, मानवता’ भन्ने सन्देश दिने निर्देशक राउतले बताए ।
‘चलचित्रको प्रदर्शन निर्माताले तय गरे, सायद त्यो समयभन्दा अगाडि जाँदा धेरै समय लाग्थ्यो होला, मैले यसपटक मिश्रित समाजको एकताले विकास ल्याउँछ भने विभेदले विनाश भन्ने देखाउन खोजेको छु, मैले अघिल्ला चलचित्रमा प्रस्तुत गरेको कथाको निचोड पनि यसलाई भन्न सकिन्छ,’ निर्देशक राउतले भने ।
विकास सुवेदीले लेख्नुभएको चलचित्रमा आर्यन सिग्देल, प्रदीप खड्का, अञ्जना बराइली, परीक्षा लिम्बू, पल शाहलगायत कलाकारले अभिनय गरेका छन् । जेठ १० पछि एकै पटक जेठ २५ मा दुई चलचित्र प्रदर्शन हुँदैछन् । यो मितिमा प्रदर्शन हुने चलचित्र ‘लन्डन टू पेरिस’ लाई घनश्याम लामिछानेले निर्देशन गरेका हुन् । यसमा युवापुस्ताको प्रेम र त्यसलाई परिवारसँग समायोजन गर्न नसक्दाको कथालाई देखाइएको छ । निर्देशक लामिछानेले चलचित्रले युवासँगै अभिभावकलाई पनि सचेत गराउने बताए ।
‘यसमा हामीले अहिलेको पुस्ताका प्रेम देखाएका छौँ, अघिल्लो पुस्ता र अहिलेको पुस्ता बीचको खाडललाई यसमा प्रस्तुत गर्नाका साथै समाधान पनि देखाएका छौँ, चलचित्रमा मनोरञ्जन छ नै साथै प्रवासी नेपालीको कथा पनि छ”, निर्देशक लामिछानेले भने । प्रदीप भारद्वाजले लेख्नुभएको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, कवीर खड्का, निश्चल खड्का, गरिमा शर्मालगायत कलाकारले अभिनय गरेका छन् ।
सोही मितिमा प्रदर्शन हुने चलचित्र ‘गाउँ आएको बाटो’ लाई नवीन सुब्बाले निर्देशक गरेका छन् । गाउँमा बाटोले विकाससँगै के–के ल्याएको छ भन्ने तथ्यलाई एउटा परिवारमार्फत देखाइएको चलचित्रमा दयाहाङ राई, पशुपति राई, प्रसन राई, केशव राई, सुमित्रा राई, राज थापा, प्रेम सुब्बालगायत कलाकारले अभिनय गरेका छन् ।
‘कहिलेकाहीँ गाउँ आउने बाटोले गाउँलाई सहरसँग जोड्छ वा सहरमा तान्छ, बसाइँसराइ, आधुनिकतासँगै गाउँ नै रित्तो पनि बनाउने गरेको छ, हामीले यस्तै विषयलाई एउटा परिवारको आँखा वा भोगाइबाट व्यक्त गरेका छौँ, यो हाम्रो ग्रामीण भेगको कथा हो,’ निर्देशक सुब्बाले भने ।
महेश राई र निर्देशक सुब्बाले लेख्नुभएको यो चलचित्रको छायाङ्कन जोस हेरम, सम्पादन क्वान पुन लिउङ र हेडी लीले सङ्गीत सृजना गरेका छन् । जेठमा पर्याप्त समय भएपनि दुई मितिमा मात्र चलचित्रको प्रदर्शन तय गरिनु विदेशी चलचित्रलाई छल्दै स्थानीय बिदा लक्षित गरिएको हुनसक्ने वितरक करण श्रेष्ठले बताए ।
‘पाँच हप्ता हुँदाहुँदै पनि दुई हप्तामा मात्र चलचित्र प्रदर्शन हुनु राम्रो सङ्केत होइन, यहाँ सहमति जुटेको भए सबैले एकल प्रदर्शन पाउँथे, मपाईंले गर्दा सहमति भएन भन्न कठिन छैन, यसले राम्रो सन्देश जाँदैन, किनकि नेपालसँगै विदेश प्रदर्शनमा पनि यसको प्रभाव पर्छ,’ वितरक श्रेष्ठले भने ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij