२०८२ भाद्र १ गते आइतवार
काठमाडौँ ।मन्त्रिपरिद्मा दलित समुदायलाई नसमेटिएको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ । असमावेशी मन्त्रिपरिषद्कै संरचनामाथि प्रश्न उठाउँदै दलित अधिकारकर्मी टीकाबहादुर दियालीले दायर गरेको रिटमा आइतबार सर्वोच्चमा सुनुवाइ हुँदैछ ।
२३ सदस्यीय संघीय मन्त्रिपरिषद दलितविहीन छ भने कर्णाली बाहेक सबै प्रदेश सरकारमा दलितको प्रतिनिधित्व छैन । संविधानका व्यवस्था, मर्म र भावना विपरीत प्रधानमन्त्री र मुख्यमन्त्रीहरु दलित समुदायको उत्थान, सशक्तिकरण र विकासका लागि अनुदार बनेको जनाइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो मन्त्रिपरिषद्मा १५ प्रतिशत जनसंख्या भएको दलित समुदायलाई समेटेका छैनन् । १० वर्षे सशस्त्र संघर्षदेखि नै निरन्तर दलित समुदायको मुक्ति र आत्मसम्मानका लागि उनले पटक–पटक प्रतिबद्धता जनाउँदै आएका थिए ।
मन्त्रिपरिषद्मा दलित समुदायबाट एक जनालाई समेत नसमेटेर संविधानका व्यवस्थाविपरीत कार्य गरेको र संविधानको प्रस्तावनामै उल्लेखित समावेशी सिद्धान्तको बर्खिलाप गरेको सर्वोच्च अदालतमा दायर रिट निवेदनमा उल्लेख छ । २३ सदस्यीय वर्तमान मन्त्रिपरिषदमा ४ जना मात्रै महिला छन् ।
प्रधानमन्त्रीसहित खसआर्य समुदायका ११ जना मन्त्री बन्दा मधेशी समुदायका ४, आदिवासी जनजाति समुदायका ६ र थारु समुदायबाट एक जना मन्त्री छन् ।
संयुक्त राजनीतिक दलित संघर्ष समितिका पूर्वसंयोजक समेत रहेका दियाली गत चैतयता प्रधानमन्त्री दाहालले संविधानको व्यवस्था, मर्म र भावनाविपरीत असमावेशी मन्त्रिपरिषद् गठन गरेको भन्दै कहिले बालुवाटार त कहिले शितलनिवास धाइरहेका छन् । बालुवाटार र शितलनिवासबाट समाधान ननिस्किएपछि उनी सर्वोच्च अदालत पुगेका हुन् ।
दियालीले ३० चैतमै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएर संविधानको भावनाबमोजिम समावेशी हुने गरी मन्त्रिपरिषद् गठन गर्न माग गरेका थिए । उनी त्यही माग लिएर राष्ट्रपतिको कार्यालय समेत पुगेका छन् । तर त्यहाँबाट कुनै सुनुवाइ नभए पनि उनी सर्वोच्च अदालत पुगे ।
सर्वोच्च अदालतमा समेत उनको रिट निवेदन कामू रजिष्ट्रार हरिराज कार्कीले २१ वैशाखमा दरपिठ गरिदिए । त्यसपछि उनले रिट निवेदन दर्ताका लागि इजलास समक्ष पेश गरेका छन् । प्रत्यक्ष र समानुपातिक समेत गरी प्रतिनिधिसभामा दलित समुदायका १६ जना सांसद छन् । त्यस्तै, राष्ट्रिय सभामा दलित समुदायका ८ जना सांसद छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij